काठमाडौँ, असोज ३
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको उल्लेख गर्नुभएको छ ।
संविधान दिवसको शुभकामना व्यक्त गर्दै उहाँले संविधानसभामार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमनचयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताउनुभएको छ । साथै उहाँले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको उल्लेख गर्नुभएको छ ।
सभापति देउवाले ऐतिहासिक जननिर्वाचित संविधानसभामार्फत संविधान निर्माण भई जारी भएको आज आठ वर्ष पूरा भएर नौ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै यो अवधिमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न भई तीनै तहले दोस्रो कार्यकालका रुपमा काम गरिरहेका बताउनुभएको छ ।
“नयाँ संविधानअनुसार विभिन्न ऐन÷कानुन निर्माण सम्पन्न भई संविधान पूर्ण कार्यान्वयनतर्फ अघि बढेको छ । नयाँ संविधानअनुसारको स्थानीय, प्रदेश र केन्द्र तीनै तहका सरकार जनताको अपेक्षाअनुसारको काम गर्न अग्रसर देखिएका छन्”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नभएको छ ।





