काठमाडौं, असोज १३
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ । अमेरिकापछि चीन भ्रमण सकेर उहाँ स्वदेश फर्कन लाग्नुभएको हो ।
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उहाँले सम्बोधन गर्नुभयो ।
न्युयोर्कमा रहँदा उहाँले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता गर्नुभएको थियो । साथै उहाँले अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभयो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । चीनमा रहँदा उहाँले चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुभयो ।





