चितवन, असोज १५
भरतपुरको बोस्टन इन्टरनेशनल कलेजमा यहि असोज २६ गतेबाट दुई दिनसम्म बोस्टन फिएस्टा हुने भएको छ ।
विद्यार्थीहरुलाई कार्यक्रम सञ्चालनसम्बन्धी व्यवहारिक ज्ञान दिएर रचनात्मक बनाउन बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कलेजले विद्यार्थीहरुकै सक्रियतामा फिएस्टा गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
फिएस्टामा २४ वटा विभिन्न व्यापारिक स्टलहरु रहने छन् । जसमा ९ वटा स्टलहरु विद्यार्थीहरुले नै सञ्चालन गर्ने छन् भने बाँकी १५ स्टल विभिन्न व्यापारिक कम्पनीहरुले सञ्चालन गर्ने जनाइएको छ ।
कलेजका एशोसिएट डाइरेक्टर पुष्पराज अधिकारीले पत्रकार सम्मेलनमा कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्दै विद्यार्थीहरुलाई इभेन्ट व्यवस्थापनसम्बन्धी प्रयोगात्मक ज्ञान दिन कार्यक्रम गर्न लागेको जानकारी दिनु भयो । उहाँले राष्ट्रियस्तरका कलाकारहरु र सांगितिक ब्यान्डहरुको सहभागिता रहने फिएस्टामा भारतबाट पनि विद्यार्थी र प्राध्यापकहरुको सहभागिता रहने बताउनु भयो ।
फिएस्टामा कलेजका विद्यार्थीहरुले गीतसंगीत र नृत्य प्रस्तुत गर्नुका साथै परिवर्तन ब्यान्डको प्रस्तुति रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । फिएस्टामा बोस्टन इन्टरनेशल कलेजका अन्तर्राष्ट्रिस्तरमा विद्यार्थी आदानप्रदान कार्यक्रम अन्तरगत अन्तर्राष्ट्रिय क्षेत्रका विद्यार्थीहरुको सहभागिता गराएर दुवै देशका सांस्कृतिक तथा शिक्षाको आदानप्रदान गरिने जनाइएको छ । यसै कार्यक्रममा भारतको डा डीवाई पाटिल विश्वविद्यालय बाट प्राध्यापक र विद्यार्थी गरेर ६ जनाको समूह र भारतीय प्रबन्धन संस्थान (आईआईएम शिलोङ) का ११ विद्यार्थी र ४ प्राध्यापक गरी १५ जनाको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा बोल्दै अतिरिक्त क्रियाकलाप विभागका संयोजक अप्रमेय खकुरेलले कलेजमा पढेका विद्यार्थीहरुलाई विभिन्न कम्पनीहरुमा रोजगारीको लागि लिंक गराउने काममा पनि कलेजले भूमिका खेलिरहेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो , ‘ विदेश जाने लहरले डाबर नेपाल र साकार कम्पनी जस्ता ठूला कम्पनीले पनि जनशक्ति नपाइरहेको अवस्था छ । नेपालमा राम्रो पढ्ने र काम गर्न चाहनेहरुलाई राम्रो अवसर छ ।’
त्यसैगरी पत्रकार सम्मेलनमा कलेजले यसै शैक्षिक शत्रमा थप नयाँ छात्रवृत्तिका योजनाहरु सार्वजनिक गरेको छ । कलेजका एशोसिएट डाइरेक्टर अधिकारीले विद्यार्थीको शैक्षिक योग्यतामा आधारित रहेर दिइने छात्रवृत्ति ५१ प्रतिशत र चितवनका सबै स्थानीय तहबाट प्रत्येक वडाद्वारा सिफारिस गरिएको एक जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गनु भयो । उहाँले यस कार्यक्रमको लागि कलेजले भरतपुरका सबै वडामा पत्राचार गरिसकेको र केही वडाले विद्यार्थी पठाउन थालेको पनि जानकारी दिनु भयो ।
अधिकारीले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै आफू पनि विदेशमा काम गर्दै पढाइ पूरा गरेर आएको व्यक्ति भएकोले बिना छात्रवृत्ति कमाएर कलेज फि तिर्ने गरेर विदेश गएका केही विद्यार्थीहरुको अवस्था निकै कठिन रहेको बताउनु भयो । उहाँले भरतपुरकै कतिपय नागरिकले घरखेत बेचेर छोराछोरीको लागि भनेर विदेश पैसा पठाउने गरेको आफूले पाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ नेपालमा राम्रो प्राज्ञिक पृष्ठभूमि बनाएर छात्रवृत्तिमा विदेश जान र कसैको लैलैमा लागेर देशमा केही छैन भनेर हतारिएर विदेश जान जरुरी छैन । राम्रो विद्यार्थीहरुले देश तथा विदेश जहा गए पनि निकै राम्रो रोजगारी पाइरहेका छन् ।’
पत्रकार सम्मेलनमा विश्वविद्यालय अनुदान आयोग अन्तर्गत बोस्टनको क्यूएए कार्यक्रम संयोजक मिनप्रसाद दवाडी, बोस्टन उद्यमशिलता कार्यक्रमका प्रमुख प्रेम गैरे, सूचना प्रविधि अफिसर मनिष कँडेलको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनलाई कलेजका विद्यार्थीहरु बोस्टन फिएस्टाकी मिडिया एण्ड पब्लिक रिलेसन कोअर्डिनेटर सरिना घिमिरे र फिएस्टाकी सहायक कोअर्डिनेटर प्रकृति कँडेलले संयोजन गर्नुभएको थियो ।





