चितवन, असोज २५
एभरेष्ट बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेड भरतपुर ३ चितवनको १६औँ वार्षिक साधारणसभा हिजो (बुधबार ) सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सहकारीले सदस्यलाई व्यवसायी र उद्यमी बनाउनका लागि ऋण लगानी गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले सहकारीका गतिविधिबारे सबै सदस्यहरु जानकार बन्नुपर्ने बताउनुभयो । संस्थाको गतिविधिबारे शेयर सदस्यले जानकारी नराख्ने भन्दै उपप्रमुख अधिकारीले साधारणसभाका बेलामा बोनस र यातायात खर्चका लागि मात्रै सहभागी हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । पछिल्लो समय सहकारीमा विकृति फैलिएको भन्दै उहाँले यसबारे सचेत बन्नुपर्नेमा सहकारीका सदस्यहरुको ध्यानाकर्षण गराउनुभयो ।
संस्थाका अध्यक्ष बालगोपाल चुकेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कुनका सञ्चालक नवराज सापकोटा, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विद्या कोइराला, निवर्तमान अध्यक्ष महेन्द्र शाक्य लगायतको उपस्थिति रहेको थियो ।
साधारणसभाले सचिव मदनप्रसाद पौडेलको प्रतिवेदन, लेखा संयोजक गणेश अधिकारीको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, कोषाध्यक्ष मनोजकुमार अग्रवालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा संस्थाको सञ्चालक सदस्य संगीता अधिकारीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएकाे हो भने प्रविधिको उच्चतम प्रयोग गर्ने शेयर सदस्य, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, ऐच्छिक बचततर्फ उत्कृष्ट बचतकर्ता, सर्वाधिक बचतकर्ता, ज्येष्ठ शेयर सदस्य, कनिष्ठ शेयर सदस्यलगायतलाई पुरस्कृत गरिएको थियो ।






