काठमाडौं, कार्तिक २
आज बडादशैंको पाँचौं दिन देवी दुर्गाका बिभिन्न स्वरुपमध्ये स्कन्दमाताको पूजा आराधना गरिँदैछ ।
प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन दशैं घर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वणर्न गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ ।नवरात्रको पहिलो दिन असोज २८ गते दशैंघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको थियो । त्यही दिनदेखि दशैं शुरु भएको मान्न्छि । जसलाई नवरात्र शुरु भएको पनि भन्ने गरिएको छ । नवरात्र भनेको घटस्थापनादेखिको नौ दिन अर्थात बिजया दशमीको अघिल्लो दिनसम्म हो ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमददेवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।





