२६ कार्तिक २०८०, आईतवार ०८:०१
काठमाडौं, कार्तिक २६
आज तिहारको दोस्रो दिन । दुईवटा तिथिका कारण आइतबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा गरिँदैछ ।
पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएअनुसार आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि औँसी तिथि लाग्नेछ ।
विधान अनुसार लक्ष्मीपूजा औँसीको साँझ अथवा राति गर्नुपर्ने हुन्छ । त्यस्तै आइतबार बिहान चतुर्दशी तिथि रहेकाले कुकुरको पूजा गर्न लागिएको हो । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरी खानेकुरा खान दिइन्छ ।
औँसीको दिन साँझमा दीपावली गर्दै ऐश्वर्य, धन र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिन्छ । सफा र उज्यालो स्थानमा लक्ष्मीले प्रवेश गर्ने मान्यता अनुसार घरका आँगन, कोठा तथा वरिपरि सफा गरि घरलाई फूल तथा बत्तीहरुले सिँगारिन्छ ।





