चितवन, मंसिर ३
आन्तरिक राजस्व कार्यालय चितवनले १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको कर सप्ताहको पहिलो दिन करदातालाई सम्मान तथा सुझाव सङ्कलन गरिएको हो ।
कार्यालयका प्रमुख कर अधिकृत निरन भट्टराईका अनुसार सम्मानित करदातासँग कार्यालयको सेवा, सुविधा र करदातालाई परेको समस्याको बारेमा छलफल गरिएको हो ।
मङ्सिर ४, ५ र ६ गते उद्योगी व्यवसायीसँग करदाता शिक्षा, कर परिचालन, सरोकारवाला निकायसँग समन्वय र सहकार्यका विषयमा अन्तक्र्रिया गरिने भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवन, चितवन उद्योग सङ्घ र तीनका वस्तुगत संस्थासँग गरिनेछ । मङ्सिर ७ गते उद्योग र वाणिज्य तर्फका दुई उत्कृष्ट करदातालाई सम्मान गरिनेछ ।
योसँगै आर्थिक ऐन २०८० ले दिएको कर सुविधाका विषयमा करदातालाई जानकारी गराउने कार्यक्रम रहेको छ । यस कार्यालयमा ६३ हजार करदाता रहेका छन् ।
भट्टराईका अनुसार कार्यालयले चालू आर्थिक वर्षको चार महिनामा लक्ष्यको ७० दशमलव ४१ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
राजस्व सङ्कलनमा कमी आउनुको मुख्य कारण अनुत्पादक क्षेत्रमा लगानी हुनु रहेको भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक मन्दीका कारण राजस्व सङ्कलनमा कमी आयो । नेपालको लगानी अनुत्पादक क्षेत्र शेयर बजार र जग्गामा गएर अड्कियो ।”
राजस्व विभागले कार्यालयलाई रु सात अर्ब ४० करोड नौ लाख ८६ हजार लक्ष्य दिएकोमा रु पाँच अर्ब २२ करोड नौ लाख ३० हजार राजस्व सङ्कलन गरेको उहाँले बताउनुभयो ।





