चितवन, मंसिर २५
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चितवनस्थित भरतपुर अस्पतालको प्रसूति विभाग अन्तर्गत निर्माण गरिएको वर्थिङ युनिटको उद्घाटन गर्नुभएको छ । भरतपुर अस्पतालमा आयोजना गरिएको एक विशेष कार्यक्रमबिच सोमबार स्वास्थ्य मन्त्री बस्नेतले उक्त वर्थिङ युनिटको उद्घाटन गर्नुभएको हो ।
स्वास्थ्य मन्त्री बस्नेतले वर्तमान चिकित्सा शिक्षा ऐनमा आवश्यक संशोधन गरेर स्वदेशमै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउन लागिएको जानकारी दिँदै चितवनलाई साँच्चिकै मेडिकल हबको रूपमा विकास गर्नका लागि स्वदेशमै पढ्न पाउने अवस्था सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपालको सरकारी स्वास्थ्य सेवामा विगत अढाई दशकदेखि स्वास्थ्यकर्मीको दरबन्दी नबढेकाले आफ्नो पूर्ण ध्यान दरबन्दी बढाउनेमा रहेकाले यसै वर्षभित्र हजारौँको सङ्ख्यामा स्वास्थ्यकर्मीको दरबन्दी बढ्ने उहाँले दाबी गर्नुभयो ।
मन्त्री बस्नेतले विगत ६ महिनाको अवधिमा स्वास्थ्य क्षेत्रको सुधारका धेरै काम सुरु भएको बताउँदै आउँदो ६ महिनाभित्र स्वास्थ्य क्षेत्रमा देखिने गरी काम गर्ने दाबी पनि गर्नुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी, अस्पतालका प्रमुख, चिकित्सकहरू र स्वास्थ्यकर्मीको सहभागिता थियो ।





