१ पुष २०८०, आईतवार ०८:०३
काठमाडौं, पुस १
विवाह पञ्चमी आज देशभर मनाइँदैछ । आजकै दिन अर्थात् मंसिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधामकी राजकुमारी सीता र भारत अयोध्याका राजकुमार रामको विवाह भएको तिथिको स्मरण गर्दै यो पर्व मनाउने गरिएको हो । विशेष गरि जनकपुरधाममा सीता र राम विवाहलाई महोत्सवका रुपमा आज विधिपूर्वक मनाइँदैछ ।
विवाह महोत्सवका लागि शनिबार जानकी मन्दिरबाट बाजगाजाका साथ साधुसन्तहरुसहित मैथिली महिलाले जनकपुरधामको गङ्गासागरबाट माटो निकालेर जानकी मन्दिर पु¥याएका थिए ।
विवाहोत्सवमा रामजानकी विवाहपञ्चमी महोत्सव, धनुष यज्ञ, तिलकोत्सव, मटकोर तथा धार्मिक विधिका साथ पूजा गरेर विवाहपञ्चमीको महोत्सव समापन हुनेछ । आइतबार भगवान् राम सीताको स्वयंवर र राति जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरले जनाएको छ ।





