चितवन, पुस ६
पोखराको लेकसाइड क्षेत्रमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अग्रेजी नयाँ बर्षलाई स्वागत गर्दै २५ औं पोखरा सडक महोत्सव आयोजना गर्ने भएको छ । चितवनको सौराहामा पत्रकार सम्मेलनको आयोजना गर्दै रेवान पोखराले सो कुराको जानकारी दिएको हो । पोखराको पर्यटन प्रवर्द्धनमा एउटा वेग्लै पहिचान बनाउन सफल यस महोत्सवको रजत जयन्ती भव्य रुपमा मनाउने कार्यक्रमको संयोजक विश्वराज पौडेलले जानकारी दिनुभएको छ ।
आगामी पौष १२ देखि १६ गतेसम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि.मि. क्षेत्रमा महोत्सव हुँदैछ । ‘सडक मै खाउ, सडक मै रमाउँ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन सँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, वेटर रेस, टंग अफ बार, भलिवल प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो बुच, पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत रही टक सो कार्यक्रम, स्वदेशी उत्पादीत हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता, बालवालिकाहरुका लागी चित्रकला र पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्ट्री प्रर्दशन गरिने छ भने महोत्सव क्षेत्रमा व्यवसायीहरुले सजावटलाई प्राथमिकता दिने छन । महोत्सव फिस्टेल गेट देखि गैराको चौतारा हुदै लेकसाइड सम्म हुनेछ ।
सो अवसरमा बोल्दै क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले पोखरा र सौराहा एक अर्काको परिपुरक रहेको बताउनु भयो । ‘जंगल सफारीको लागि पोखरा पुगेका पर्यटक यहांँ आउंँछन, साहसिक खेल र अन्य गतिविधिको लागि यहांँका पर्यटक उता जान्छन।’ गिरीले भन्नुभयो ।
रेवान सौराहाका अध्यक्ष नरेश गिरीले विगतमा पनि चितवनबासीले महोत्सव सफल बनाउन सहयोग गर्दै आइरहेको भन्दै यसपटक पनि सहयोग गर्ने बताउनु भयो ।





