चितवन, पुस २२
नेपाल पशुपन्छी औषधी व्यवसायी संघको १४औँ राष्ट्रिय महाधिवेशन तथा ३३औँ वार्षिक साधारण सभा चितवनमा हुने भएको छ । पौष २४ र २५ गते चितवनको भरतपुरमा हुने साधारणसभा तथा महाधिवेशनको तयारी पुरा भएको संघले जनाएको छ ।
महाधिवेशनमा सात प्रदेश र २२ वटा शाखाबाट महाधिवेशन प्रतिनिधि, कम्पनी प्रतिनिधि, परिवेक्षक, संघसंस्था प्रतिनिधि एवम् नियमनकारी निकायका प्रतिनिधि गरी एक हजार जना सहभागी हुने छन् । महाधिवेशनमा भने ४८१ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने संघका अध्यक्ष पूर्णचन्द्र सापकोटाले जानकारी दिनुभयो ।
नेपालमा करिब २० वटा कम्पनीले भेटेरीनरी औषधी, भ्याक्सिन र फिड सप्लिमेन्टहरु उत्पादन तथा विक्री वितरण गर्दै आएका छन् । करिब १४० को हाराहारीमा पैठारीकर्ताले औषधी भ्याक्सिन तथा फिड सप्लिमेन्ट्सहरु पैठारी गरी विक्री गर्दै आएका छन् । भेटेरीनरी औषधी फिड सप्लिमेन्ट तथा औषधीजन्य पदार्थहरुको बजार बार्षिक १३ अर्ब रुपैयाँ पुगेको संघका महासचिव नारायण बहादुर भुजेलले बताउनुभयो ।
महाधिवेशनबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष, एक महिला सदस्य, चार खुल्ला सदस्य, सातै प्रदेशबाट एक/एक जना सदस्य, मनोनित एक जना सदस्य र निवर्तमान अध्यक्ष पदेन रहने गरी २१ सदस्यिय नयाँ कार्यसमिति दुई वर्षे कार्यकालको लागि निर्वाचित हुने छ ।
महाधिवेशनमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पोल्ट्री महासंघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल औषधि पैठारीकर्ता संघ, नेपाल औषधि उत्पादक संघ, स्वदेशी तथा विदेशी औषधि कम्पनीका प्रतिनिधीहरु, पत्रकारहरु, सुरक्षा निकाय, स्वयं सेबक, परिवेक्षक लगायतका उल्लेखनीय सहभागीता रहने संघले जनाएको छ ।





