चितवन, माघ १८
राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा कालिका नगरपालिकामा एकदिने अपाङ्गता समावेशी शिक्षा बिकास सम्बन्धि सामाजिक लेखा परिक्षण हिजो बुधबार सम्पन्न भएको छ ।
कालिका नगरपालिकाका उपप्रमुख बिमला लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कालिका नगर क्षेत्रभित्रका अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्नुहुँदै उपप्रमुख लामाले जटिल प्रकारका अपाङ्गता भएका बालबालिका र अभिभावकहरुलाई सचेतना अगाडि बढाएको बताउनुभयो । उहाँले सबै तह र क्षेत्रमा समाबेशी शिक्षालाई कार्यान्वयन गर्दै लैजाने समेत प्रतिबद्धता जाहेर गर्नुभयो । लामाले घरमा आधारित शिक्षा अनुसार नगरपालिकाले बिद्यालय जान नसक्ने बालबालिकाहरुका लागि निशुल्क शिक्षाको प्रबन्ध मिलाएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले राज्यतवरबाट अझैपनि अपाङ्गता भएका व्यक्तिहरुले राहत पाउन नसकेको गुनासो गर्नुभएको थियो ।

राष्ट्रिय बहिरा महासघ नेपालले भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा समावेशी शिक्षा परियोजना मार्फत जटिल अपाङ्गता भएका बालबालिकाहरुलाइ शिक्षा सम्बन्धि कार्यहरु सन्चालन गर्दै आइरहेको छ । परियोजनाको कार्यक्षेत्र चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिका रहेको छ ।






