चितवन, माघ २४
भरतपुरमा नमुना युवा नगर सभा सम्पन्न भएको छ । महानगरका गतिविधिबारे जानकारी दिएर युवालाई आकर्षित गर्नको लागि महानगरको शैक्षिक प्रशासन महाशाखाको आयोजनामा मंगलबार नमुना युवा नगर सभा गरिएको हो ।
युवालाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ । नमुना युवा नगर सभामा भरतपुर युवा सञ्जालका अध्यक्ष अञ्जान दवाडीले नगर अध्यक्ष र सहसचिव विभा पाण्डेले नगर उपाध्यक्षको भूमिका निर्वाह गर्नुभएको हो । बाँकी सहभागीले नगर सभासद्को भूमिका निर्वाह गर्नुभएको हो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा गरिएको नमुना युवा नगर सभामध्ये अहिलेसम्मकै उत्कृष्ट नमुना सभा भएको बताउनुभयो । उहाँले युवालाई आर्कषित गर्नको लागि यस्तो किसिमको कार्यक्रम गरिएको बताउनुभयो । उहाँले भन्नुभयो , ‘हामीले युवा लक्षित कार्यक्रम गर्दैै आइरहेका छौँ । युवाका हरेक खालको क्षेमतालाई प्रस्फुटन गर्नको लागि महानगर सधैँ युवाको साथमा छ ।’ महानगर युवाको पक्षमा जिम्मेवारीपूर्ण ढङगले अगाडि बढेको उहाँको भनाइ छ ।
कार्यक्रममा महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले नमुना सभामा सहभागी युवाले महत्वपूर्ण भूमिका नर्वाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेका युवाहरु महानगरको समृद्ध विकास, वर्तमानको साझेदारी, भविष्यका कर्णधार हुन् । राष्ट्र सेवकको रुपमा नेतृत्वगर्न सकून् भन्दै शुभकामना दिन चाहान्छु ।’
नमुना संसदीय अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानुन, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि कार्यक्रमको आयोजना गरिएको महानगरका शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिनुभयो ।

वडा क्लब गठन तथा नमुना युवा संसद कार्यविधि–२०७५ अनुसार प्रत्येक दुई–दुई वर्षमा नमुना नगर सभा गर्नुपर्ने उल्लेख छ । नमुना युवा नगर सभाका लागि महानगर सभाहलमा संसदीय मामिलाका विज्ञ रमाकान्त पौडेलले तीन दिनको प्रशिक्षण दिर्नुभएको थियो । कार्यक्रममा महानगरका २९ वटा वडाबाट १६ वर्षदेखि २४ वर्ष उमेर समूहका ३९ जना प्रतिनिधिको उपस्थिति रहेको थियो ।






