चितवन, माघ २६
राष्ट्रिय माध्यमिक बिद्यालय कृष्णपुरले आफ्नो स्वर्ण महोत्सव हिजोदेखि मनाउन सुरु गरेको छ ।
पूर्व अध्यक्ष एवं स्वर्ण महोत्सव समारोह संरक्षण समितिका सदस्य लालकृष्ण शर्मा लामिछानेले प्राइभेट शिक्षालाई भन्दा सरकारी शिक्षालाई व्यबस्थित गराउनुपर्ने धारणा राख्नुभएको छ ।
प्रमुख अतिथिको रूपमा बोल्दै लामिछानेले यस्तो बताउनुभएको हो । त्यस्तै लामिछानेले बिद्यालय स्थापना गराउन महत्त्वपूर्ण भुमिका खेल्नुहुने संस्थापक अध्यक्ष राममणि उपाध्याय पौडेलको सबैले प्रशंसा र अनुसरण गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले सबै तहमा समाबेशी शिक्षा लागू गराउन जोड दिनुपर्ने तर्क गर्नुभयो । स्वर्ण महोत्सवका अबसरमा अपांगता भएका बालबालिकाहरुका लागि अपांगता मैत्री संरचना गराएर विद्यालय भर्ना प्रक्रियालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । त्यस्तै काफ्लेले वडाको नीतिगत बिकासमा जोड दिदै वडा क्षेत्रभित्र रहेका शैक्षिक संस्थाहरुको उन्नयनको लागि वडाले काम गरिरहेको धारणा राख्नुभयो ।
त्यस्तै सो विद्यालय स्थापनामा महत्त्वपूर्ण भुमिका खेल्नुभएका संस्थापक अध्यक्ष राममणि उपाध्याय पौडेलले बिगतको अवस्थालाई स्मरण गर्दै वर्तमान समयमा शिक्षा क्षेत्रले फड्को मारेको बताउनुभयो । बि.स. २०२३ साल फाल्गुन २ गते बिद्यालय स्थापना भएको जानकारी गराउदै पौडेलले सुरुमा कक्षा १ देखि ३ सम्म १५ जना बिद्यार्थी अध्ययनर रहेको बताउनुभयो । भौतिक संरचना प्राप्त रूपमा भएपनि अहिलेको वर्तमान समयमा बिद्यार्थी पाउन गाह्रो भएको उहाँको भनाइ थियो ।
बिद्यालयले माघ २५ गतेदेखि आउँदो फाल्गुन २ गतेका दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रम एवं हाजिरीजवाफ प्रतियोगिता जस्ता अन्य कार्यक्रमहरु संचालन गर्नेछ ।






