चितवन, माघ २६
राष्ट्रिय थारु कलाकार मञ्चको प्रथम महाधिवेशन चितवनको पर्यटकीय नगरी सौराहामा हुने भएको छ । मञ्चले यही माघ माघ २७ र २८ गते सौराहामा महाधिवेशन गर्न लागेकाे हो । मञ्चले सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारीका बारेमा जानकारी दिएको हो ।
महाधिवेशनमा भने ४ हजार बढी कलाकार तथा थारु समुदायका अगुवाहरु विभिन्न जिल्लाबाट सौराहा आउने छन् । महाधिवेशनमा नयाँ नेतृत्व चयनसंगै थारु संस्कार संस्कृति, पहिचान र परिकारलाई प्रवद्र्धन गर्ने मञ्चका अध्यक्ष वीरबहादुर चौधरीले जानकारी दिनुभयो । पाँच वर्षअघि गठन भएको मञ्चले थारु कलाकारहरुको क्षमता अभिबृद्धि, पेशागत सुरक्षामा क्रियाशिल रहेको उहाँले बताउनुभयो । मञ्चले थारु भाषा, कला र संस्कृतिको संरक्षण, सम्र्बद्धन गर्न र थार समुदायमा रहेको प्राचीन सम्पदा जोगाउन पनि सक्रिय रहेको अध्यक्ष चौधरीको भनाई छ ।
अधिवेशनको उद्घाटनमा थारु पौराणिक लोकनाच, लोकगीत, बाजासहित थारु पहिरन र गहनासमेत लगाएका ५० वटा झाँकी प्रस्तुत गरिने उहाँले बताउनुभयो । दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा क¥या चोल्या, उज्जर गोन्यामा सजिएर थारु मन्द्रा, मञ्जौराको तालमा नाचिने सख्या नाच, चितवनको लठ्ठी नाच, उदयपुर, सप्तरी, सिराहा, महोतरी, सर्लाही, रौतहट, बारा, पर्सा, सुनसरी, मोरङ, झापामा प्रचलित धुमरा चोरखेली नाच अधिवेशनमा प्रस्तुत हुनेछन् ।
थारु नेपालको आदिवासी समुदाय हुन् । नेपालको पूर्वीदेखि पश्चिमसम्मको तराई क्षेत्रमा थारु समुदायको बसोबास छ । राष्ट्रिय थारु कलाकार मञ्चको नेपालका २६ जिल्लामा संगठन भएको महासचिव रोशन रत्गैंयाले जानकारी दिनुभयो । महाधिवेशनले ५१ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने महासचिव रतगैंयाले बताउनुभयो ।
महाधिवेनमा नयाँ नेतृत्व चयनसंगै थारु समुदायको परम्परागत संस्कृति तथा खानाको संरक्षणको लागि बहस गरिने छ । महाधिवेनमा २६ जिल्लाका १३० जना प्रतिनिधि र २६ जना परिवेक्षकको भाग लिने जनाईएको छ ।





