चितवन, फागुन ४
भरतपुर ९ शरदपुरमा रहेको पञ्चशील महाबौद्ध गुम्बा व्यवस्थापन समितिको आयोजनामा कंग्युर (त्रिपिटक) पाठ वाचन एवम् धर्म प्रवचन कार्यक्रम हुने भएको छ । भोलिदेखि देखि १२ गतेसम्म पाठ वाचन हुने तयारी भइरहेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
कंग्युर पाठ वाचन मूल समारोह समितिका संयोजक सन्तलाल गुरूङका अनुसार विश्वशान्तिका लागि कंग्युर पाठ वाचन गर्न लागिएको हो । विश्वमा फैलिइरहेको अहिंसा र त्रासदीपूर्ण वातावरणलाई शान्त तुल्याउनका लागि कार्यक्रम आयोजना गरेको बताउनुभएको छ । समाजमा राजनीतिक, धार्मिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा सकारात्मक एवम् ऊर्जाशील सोचको विकास गराउन पनि पाठ वाचन गर्न लागेको उहाँको भनाइ छ । गुम्बाले हरेक तीन÷तीन वर्षको अन्तरालमा पाठ वाचन गर्दै आएको छ ।
कार्यक्रम अवधिभर विभिन्न धर्मगुरूहरुद्वारा नियमित पाठ वाचन गरिने छ । फागुन ७ गते भने अवतारी टुल्कु रिम्पोछे थब्वाङ तेञ्जिङ गुरूङमार्फत ८४ र ६१ वर्षको पूजा अभिषेक हुने आयोजकले बताएको छ । बाँकी दिनहरुमा प्रमुख वाचक एवम् पूजा प्रमुख खेन्पो रिम्पोटे (डा) दशरथ गुरूङद्वारा नियमित पाठ वाचन हुने छ । त्यसबाहेक पनि खेन्पो रिम्पोछे (डा)हरु रनबहादुर गुरूङ, शीर लामा गुरूङ, सन्तोष गुरूङ, रक्षबहादुर गुरूङलगायतका धर्मगुरूहरुबाट नियमितपाठ वाचन हुने बताएको छ ।
भोलि पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले उद्घाटन गर्ने कार्यक्रमको समापन भने फागुन १२ गते दिउँसो सम्मान–सँगै वाङ, अभिषेक एवम् प्रसाद ग्रहणपछि हुने जनाईएको छ ।





