चितवन, फागुन ६
चितवनको भरतपुर महानगरपालिकामा महानगर प्रहरी आधारभूत तालिम दिक्षान्त समारोह २०८० कार्यक्रम सम्पन्न भएको छ । छ हप्ता लामो तालिम पुरा गरेपछि आज (आइतबार) एक कार्यक्रमको आयोजना गरी भरतपुर महानगरप्रमुख रेनु दाहालले उनीहरुलाई दिक्षित गरि कार्यक्रम सम्पन्न भएको हो । समारोहमा भरतपुर महानगरपालिकामा नियुक्त भएका २८ जना नगरप्रहरी दिक्षित भएका छन् ।
दिक्षान्त समारोहमा महानगरप्रमुख दाहालले शान्ति सुव्यवस्था कायम गराएर महानगर क्षेत्रभित्र सुशासनको प्रत्याभूति गराउन समेत नगर प्रहरीलाई आग्रह गर्नुभयो । उहाँले नगर प्रहरीको जिम्मेवारी बहन गर्दै काम गर्न समेत अनुरोध गर्नुभयो । ‘महानगरको सुरक्षालाई ध्यानमा राखेर काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएकी छु’, उहाँले भन्नुभयो, ‘नगर क्षेत्रको बिकासमा यहाँहरुले खेल्नुभएको भूमिकाको मुक्त कण्ठले प्रशंसा गर्छु ।’ उहाँले नगर प्रहरीलाई कार्यसम्पादनको आधारमा सम्मान गरीने समेत बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले नगरको शान्ति सुरक्षामा नगर प्रहरीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले नगरको शान्ति सुरक्षामा नगर प्रहरीसंग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले नगर प्रहरीले गर्ने काम नगर प्रमुख र प्रशासकीय अधिकृतसंग जोडिने भएकाले सोच बिचार गरेर काम गर्न निर्देशन दिनुभयो ।

दिक्षित हुने नगर प्रहरीमध्ये नायब उपरिक्षक एक, नायब निरिक्षक एक, साहायक निरिक्षक तीन र प्रहरी जवान २३ जना रहेका छन् । महानगरपालिकाले प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक कृष्ण हरी ढकाल सहित २८ जनालाई पुस १६ गते नियुक्त गरेको थियो ।





