चितवन, फागुन ७
सापकोटा एग्रोभेटको २५ औं वार्षिकोत्सव आज सोमबार भरतपुर ६ गितानगरमा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा विषयगत विज्ञ तथा किसानसंग अन्तरक्रिया गरि कार्यक्रम सम्पन्न भएको हो ।
एग्रोभेटका संचालक राम प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर ६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठ प्रमुख अतिथिको रूपमा रहनुभएको हो ।
कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले कृषि क्षेत्रमा सापकोटा एग्रोभेटले खेलेको भूमिकाको कदर गर्दै कृषि कर्ममा युवाहरुलाई लाग्न प्रेरित गर्नुभयो । उहाँले आफ्नो देशमा सम्भावना नदेखेर युवाहरु बिदेश पलायन भएको समयमापनि आफ्नै देशमा केही गर्ने सोचका साथ व्यवसायलाई निरन्तरता दिनुभएकोमा खुशी व्यक्त गर्नुभयो ।
झन्डै २५० जना कृषकहरु सहभागी भएको कार्यक्रममा हामीले लगाउने अन्नबालीहरुमा बिषादीहरु कसरी प्रयोग गर्ने, बालीहरु कसरी लगाउने, तरकारी बालीहरुमा लागेको रोग कसरी पत्ता लगाउने र रोग लाग्दा देखिने बालीको अबस्था आदिका बारेमा कृषि तथा बाली रोग विशेषज्ञ सुरेश सिंखडाले प्रशिक्षण दिनुभएको हो ।
त्यस्तै उहाँले रासायनिक मल तथा किटनाशक औषधिको प्रयोगले माटोको अवस्था र मानव स्वास्थ्यलाई असर पार्ने हुँदा सकेसम्म यस्ता औषधि र मलको प्रयोग नगरी प्राङगारिक मलहरुको प्रयोग गर्न सुझाव दिनुभयो । बालीहरुमा सामान्य रोग देखा परेमा घरेलु औषधिहरु निम तथा चुन, खरानी, असुरो जस्ता जडिबुटीहरु समेत प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।

त्यस्तै कुखुरा र चल्लामा लाग्ने रोग तथा बचावटका बारेमा कुखुरा तथा पशुपालन बिज्ञ मनोज लामिछानेले कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका क्रममा उहाँले किसानहरुलाई आँफुले पालेका कुखुरा, हाँस, तथा पशुपन्छीहरुको अनुभव र लाग्ने रोगका बारेमा अबगत गराउन सुझाव दिनुभयो । कुखुरालाई औषधि उपचार र प्रयोग गर्ने दानामा किसानहरुले विशेष ध्यान दिनुपर्ने पशु बिज्ञ लामिछानेले बताउनुभयो ।








