चितवन, फागुन १६
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
भरतपुर भ्रमण बर्षको उद्घाटन नारायणी नदी किनारमा भव्य समारोहका बीच दिउँसो १ बजे प्रधानमन्त्री दाहालबाट हुन लागेको हो । उहाँसंगै पूर्वप्रधानमन्त्री, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र संघ तथा प्रदेशका सांसदहरु सबैको उपस्थिति रहने भरतपुर भ्रमण बर्ष मुल समारोह समितिका संयोजक एवं भरतपुर महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।
करिब ५० हजार जनसमुदाय सहभागी हुने अपेक्षा गरिएको भव्य उद्घाटन समारोहमा स्थानीय तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति रहनेछ । विभिन्न सांस्कृतिक झाँकी सहित प्रदर्शन हुने सो कार्यक्रममा २९ वटै वडाका वडाध्यक्षहरुको नेतृत्वमा विभिन्न बिधामा विभिन्न समुदायका आआफ्नै मौलिक संस्कृतीहरु प्रस्तुत गरिनेछ ।
‘घुमौं भरतपुर’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिती तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ । यस्तै महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु संलग्न सल्लाहकार समिति, विभिन्न ३० वटा विषयगत उपसमितिहरु गठन गरी कार्य विभाजनसहितको जिम्मेवारी प्रदान गरिएको छ ।
भ्रमण वर्षको तयारीका सन्र्दभमा विभिन्न राजनीतिक, दल, बुद्धिजिवी, समाजसेवी, निजी क्षेत्रलगायत सरोकारवाला सबैसँग पटकपटक छलफल तथा अन्तरक्रिया गरिसकेको महानगरले जनाएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को मुख्य प्रर्वधक नेपाल पर्यटन बोर्ड रहेको छ ।





