चितवन, चैत २२
प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव बुधबार सकिएको छ। चैत ९ देखि १८ गतेसम्म चलेको महोत्सवको बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटा ‘सुमन’को उपस्थितिमा समापन भएको हो। नारायणी नदी किनारमा भएको महोत्सवको समापन समारोहमा बोल्दै सांसद सापकोटाले चितवनका आदिवासी जनजाति समुदायले पहिलोपटक महोत्सव आयोजना गरे पनि उत्कृष्ट महोत्सव भएको प्रतिकृया दिर्नुभयो ।
एकै ठाउँमा आदिवासी जनजातिको घर निर्माण गरेर ‘मिनी चितवन’को परिचय दिन सफल भएको भन्दै यस्ता खाले मेला महोत्सव जोकसैका लागि पनि अध्ययन अनुसन्धान गर्ने केन्द्र नै बनेको उहाँले बताउनुभयो । यस्ता महोत्सवले आगामी दिनमा पनि निरन्तरता पाउनुपर्ने धारणा राख्नुभयो । त्यसका लागि तीनै तहका सरकारले विशेष तरिकाले हेर्नुपर्ने उहाँको भनाइ छ।
उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले आदिवासी जनजाति महासंघले यसपटक निजी क्षेत्रलाई सहयोग पुग्ने खालको कार्यक्रम गरेर सुस्ताएको बजार र अर्थतन्त्रलाई मानि उकास्ने काम गरेको बताउनुभयो । आर्थिक संकटकै कारण चलायमान हुन नसकेको निजी क्षेत्रलाई थोरै भए पनि यो महोत्सवले माथि उठाउने प्रयास गरेको उहाँको भनाइ छ। त्यसकारण चितवनमा जुनकुनै संघसंस्थाले आयोजना गरे पनि महोत्सव भइरहनु निजी र सरकारी दुवै क्षेत्रलाई फाइदाको विषय भएको उहाँले बताउनुभयो । निजी क्षेत्रको व्यापार व्यवसाय बढाउँदै जाँदा त्यसबाट आर्जन हुने राजस्वले सरकारी क्षेत्रलाई समेत सहयोग पुग्ने र त्यही राजस्व जनताको घरदैलोमा विकासको नाममा आइपुग्ने हुँदा देशको अर्थतन्त्रको लागि मेला महोत्सवको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका सल्लाहकार संयोजक पदमबहादुर गुरूङले लामो समयको संघर्षपछि महोत्सव आयोजना गर्न सफल भएको बताउनुभयो । यसले देशभरका आदिवासी जनजाति समुदायको आवाजलाई अन्तर्राष्टियकरण गराउनमा धेरथोर भूमिका खेलेको उहाँको भनाइ छ।
नेफिन चितवनका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले सबैको साथ, सहयोग र समर्थनले महोत्सव सफल भएको दाबी गर्नुभयो । महोत्सवबाट आयोजक, व्यवसायी, समुदाय सबै सन्तुष्ट रहेको उहाँले बताउनुभयो । सबैको साथ र सहयोगबाटै संस्था बलियो हुने बताउँदै उहाँले भन्नुभयो, ‘आगामी दिनमा पनि हामी यो महोत्सवलाई निरन्तरता दिँदै जाने छौँ। यहाँहरू सबैबाट यस्तै साथ र सहयोगको अपेक्षा गरेका छौँ।’
समापनको दिनमा महोत्सव सफल पार्न विभिन्न तहबाट भूमिका निर्वाह गर्ने व्यक्ति तथा संस्था, कलाकार, उपसमितिलगायतलाई मायाको चिनोसमेत वितरण गरेको थियो। महोत्सवको आर्थिक उपसमिति संयोजक पवन गुरुङले स्वागत मन्तव्य राखेको समापन कार्यक्रममा व्यवस्थापकको तर्फबाट नारायणी फेयर एक्जीविसन नेपालका सञ्चालक विकल क्षेत्री तथा विभिन्न जातजातिको जातीय संस्थाका प्रतिनिधिहरुले पनि मन्तव्य राख्नुभएको थियो।
सुरूमा चैत ९ देखि १८ गतेसम्मको लागि महोत्सव आयोजना गरे पनि पछि तीन दिन थप गरेर २१ गतेसम्म महोत्सव सञ्चालन भएको थियो।





