फाइल तस्बिर
काठमाडौँ, वैशाख २५
प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेलाको सम्पूर्ण तयारी पुरा भएको छ ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेलाको सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । उहाँले मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरी काम गरिएको जानकारी दिनुभयो ।
मातातीर्थ मेलामा आज साँझ बत्ती बाल्ने र बत्ती बालेको भोलिपल्ट औँसीका दिन आमाको मुख हेर्ने तथा स्नान गर्ने परम्परा छ । त्यसैले अघिल्लो दिनदेखि सो क्षेत्रमा मेला लाग्ने गर्छ ।
सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या बढ्दै गएको मन्दिरका पुजारी फणिन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार उक्त कुण्डमा प्रत्येक दिन आठदेखि १० जना श्राद्ध गर्नका लागि आउँछन् ।





