काठमाडौँ, जेठ २०
पूर्वअर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याउनेक्रममा सत्तारुढ दलसँग छलफल नगरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै पौडेलले बजेट बनाउदा सत्तारुढ दलसँग छलफल नगरेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो – ‘अर्थमन्त्रीलाई बजेट निर्माणका बेला निकै व्यस्तता हुन्छ । निश्चित समयभित्र यो काम गर्नुपर्छ । तर, उहाँले सत्तापक्षीय राजनीतिक दलसँग सुझाव लिन भ्याउनुभएन । यदि भ्याउनुभएको भए बजेट अझ राम्रो आउँथ्यो। सल्लाह लिन पाएको भए राम्रो हुन्थ्यो।’
उहाँले आगामी आर्थिक वर्षका लागि तुलनात्मकरुपमा सङ्क्षिप्त र सन्तुलित बजेट ल्याएको बताउदै पौडेलले बजेट उच्च आकाङ्क्षी बजेट भएको बताउनुभयो । उहाँले राजस्व सङ्कलन, ऋण तथा अनुदान परिचालनका लागि उच्च आकाङ्क्षा राखिएको टिप्पणी गर्नुभयो ।
उहाँले आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अघि बढाउने उल्लेख भएकामा सो अवधारणालाई सरकारले थप स्पष्ट पार्नुपर्ने पौडेलले बताउनुभयो ।
बजेटमा कृषिमा लगानी दशक घोषणा गरिएको भए पनि चालु आवको तुलनामा आगामी आवको भन्दा बजेट घटेको उहाँले बताउनुभयो ।
हरेक प्रदेशलाई कुनै निश्चित वस्तुको उत्पादन हबका रूपमा अघि बढाउने योजना बजेटमा राखिए पनि त्यसमा दोहोरोपना हटाउनुपर्ने सुझाव दिँदै पौडेलले एउटा प्रदेशमा एउटा केन्द्र स्थापना गर्ने विषयमा थप अध्ययन गरिनुपर्ने सुझाव दिर्नुभयो ।
पौडेलले धेरै अघि बढिसकेका आयोजना बजेटमा छुटेको उल्लेख गर्दै दमक औद्योगिक क्षेत्रबारे बजेट नबोलेको तर एक पालिका, एक डाउनटाउन तथा वडावडामा उद्यान बनाउनेजस्ता विषयबारे सङ्घीय बजेटले नबोलेको भए पनि हुन्थ्यो भन्ने विचार राख्नुभयो ।





