चितवन,९ मंसिर
चितवन क्षेत्र नम्बर २ (ख) का नवनिर्वाचित सांसद उत्तम जोशीले मतदातासँग गरेको प्रतिवद्धतामा पुरा गर्न इमान्दारिताका साथ काम गर्ने बताउनुभएको छ ।
आज (शुक्रबार) बाम लोकतान्त्रिक निर्वाचन परिचालित समिति चितवन २ (ख) ले आयोजना गरेको धन्यवाद शुभकामना एवं बधाई कार्यक्रममा बोल्दै जोशीले यस्तो बताउनुभएको हो ।
चुनावको समयमा गरेको प्रतिवद्धतालाई केबल चुनावी प्रतिवद्धतामा मात्रै सीमित हुन नदिने,आफूसँग प्रतिस्पर्धामा रहेका नेकपा एमालेका पोलिटव्युरो सदस्य देवी ज्ञवालीसँग आवश्यक समन्वय गरेर अघि बढ्ने बताउदै विकास निर्माणका लागि भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालसँग पनि समन्वय गर्ने उहाको भनाइ थियो ।
उहाँले मतदातालाई धन्यवाद दिदै मतदाताको मतको सम्मान गर्दै विश्वास टुट्न नदिने,कसैलाई पक्ष विपक्षमा रुपमा नलिई चितवन २ को समस्यालाई मात्रै विरोधि सम्झिएर समाधानमा अघि बढ्ने ‘चितवन २ लाई कसरी बिकाससँग जोड्ने भन्ने मात्रै हाम्रो एउटै मात्र मुद्दा बन्नेछ । यहाँको रोग, भोक, गरिवी हाम्रो विरोधी हुनेछन् । यसलाई सबैसँग मिलेर व्यवस्थापन गर्नेछौं,’ उहाले भनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रणेन्द्र बराली, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जितनारायण श्रेष्ठलगायतले जोशीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो । जोशी १३ हजार ३०६ मत प्राप्त गर्दै चितवन २ (ख) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको हो ।
यसैबीच जोशीले चितवन २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रमाणपत्र लिनुभएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाको हातबाट आज उहाले निर्वाचित प्रमाणपत्र लिनुभएको हो ।





