चितवन, मंसिर २६
नारायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्मपुग्ने सडकको काम तत्काल अघि बढाउन माग गर्दै नवनिर्वाचित वागमती प्रदेश सांसद उत्तम जोशी नेतृत्वको टोली डेलिगेसन गएको छ ।
वर्षौंदेखि अलपत्र उक्त सडकको काम तत्काल सम्पन्न गर्न माग गर्दै जोशीको नेतृत्वमा स्थानीय टोल सुधार, उपभोक्त समितिसहितको टोली आज (सोमबार) सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको कार्यालयमा डेलिगेसन गएको हो ।
डेलिगेसन गएको टोलीले कार्यालय प्रमुख प्रकाश अर्यालसँग भेट गरेको छ ।
भेटको क्रममा सांसद जोशीले उक्त सडक निर्माणमा भएको ढिलासुस्तीको कारण सोध्नु भएको थियो । उहाले अलपत्र सडक निर्माणको तत्काल काम अघि बढाउन कार्यालय प्रमुखको ध्यानाकर्षण समेत गराउनु भएको हो ।

कार्यालय प्रमुख अर्यालले सडक निर्माणको काम तत्काल सुरु गर्ने प्रतिवद्धता जनाउनु भएको छ । पौष १३ गते भित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने उहाले प्रतिवद्धता बेक्त गर्नु भएको छ । धुलो उड्न नदिने गरी काम अघि बढाईने समेत उहाले जानकारी दिनुभएको छ । निर्माण कम्पनीले तत्काल काम सुरु नगरे कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने कार्यालय प्रमुख अर्यालको भनाइ छ । उपभोक्ताका तर्फबाट स्थानीय इन्दिरा सापकोटा सडौला र रेशम कंडेलले आफ्नो भनाइ राख्नु भएको हो ।
तीन किलो मिटर लामो उक्त सडक निर्माणका लागि सम्झौतामा २०७७ असार मसान्तसम्म सक्नुपर्ने भनिए पनि सडक निर्माणको काम अझै अलपत्र छ ।





