काठमाडौं ,पुस २
निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन शनिबार सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने जानकारी दिनु भयो ।
यसका लागि आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेको । प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १,आयुक्त सगुनशमशेर जबरा मधेश र सचिव गोकर्णमणि दुवाडी वागमती पुगी सक्नु भएको छ ।
गण्डकीमा आयुक्त इश्वरीप्रसाद पौडेल, लुम्बिनीमा आयुक्त रामप्रसाद भण्डारी र कर्णालीमा सहसचिव यज्ञप्रसाद भट्टराईले प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउने । सुदूरपश्चिम प्रदेशमा आयुक्त जानकीकुमारी तुलाधरले प्रतिवेदन बुझाउने प्रवक्ता पौडेलले जानकारी दिनु भयो ।
प्रतिवेदन बुझाउनुअघि शनिबार नै सबै प्रदेश राजधानीमा पत्रकार सम्मेलन गरी सम्बन्धित प्रदेशको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी आयोगले जनाएको छ। प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन्।
आयोगले प्रतिवेदन बुझाएपछि सात वटै प्रदेशमा पनि नयाँ सरकार गठनको बाटो खुल्नेछ। आयोगको प्रतिवेदन बुझिसकेपछि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ।
आयोगले प्रतिनिधिसभातर्फको अन्तिम निर्वाचन प्रतिवेदन गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइसकेको छ। संघमा जस्तै सातै प्रदेशमा सरकार गठनका लागि कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेका छैनन्।





