चितवन, भाद्र २५
चितवन मेडिकल कलेजले उपत्यका बाहिर सबैभन्दा धेरै मनोरोगका बिरामीको उपचार गरेको दावी गरेको छ । कलेजले विश्व आत्महत्या रोगथाम दिवसको दिन आज मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी गत आर्थिक वार्षिमा १६ हजार ८३४ जना मनोरोगका बिरामीको उपचार भएको जनाएको छ । त्यसमध्ये ५०९ जनाले भर्ना भएर सेवा लिएका हुन् ।
कलेज (सिएसी)मा दैनिक एक सय १० जनाको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । ती मध्ये करिव १० जनामा कडा खालको मानसिक रोग लागेको देखिएको अस्पतालका चिकित्सक सीपी सेढाईले जानकारी दिनुभयो । धेरै जसो उपचारका लागि आउने गरेका बिरामीलाई आफू मानसिक रोगी भएको महसुस गर्ने गरेका हुँदैनन् । उनीहरुलाई परामर्श पछि औषधि उपचार गर्ने गरिएको छ ।
मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य कारण नै मानसिक रोग भएको बताउनुभयो । उहाँले नेपाल प्रहरीको तथ्यांकलाई उदृत गर्दै आर्थिक वर्ष २०८०÷८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड–१९ को समयमा धेरै नेपाली मानसिक रोगी हुन पुगेका थिए । २०७९/८० मा ६ हजार ९९३ जना आत्महत्या गरेका थिए ।
सिएमसीले २०६४ भदौदेखि नै मनोरोगको उपचार सुरु गरेको थियो । सुरुमा आकस्मिक कक्षमा दुई वटा शैयाबाट सुरु गरिएको यो सेवा आज ३० शैयाको बनेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिनुभयो । मनोरोगको उपचार गराउन आउनेमा ५५ प्रतिशत महिला छन् भने ४५ प्रतिशत पुरुष छन् । तर आत्महत्या गर्नेमा महिला भन्दा बढी पुरुष हुने गरेको छ ।
अस्पतालमा औषधिको प्रयोगसंगै विद्युतीय उपचार (इ.सिटी), परामर्श, साइकोथेरापी विधिको प्रयोग गरेर उपचार गर्ने गरिएको छ भने त्यसका अलवा बिरामीलाई मनोरञ्जनात्मक (नाँचगान) आध्यात्मिक, योग समेत गराएर उपचार गर्ने गरिएको अस्पतालका सिइओ देवकोटाले जानकारी दिनुभयो ।
सिएमसीमा विशेषज्ञ चिकित्सक, आधूनिक उपकरणसहितको उपचारको सफलताको दर उच्च रहेकै कारण अस्प्तालमा मनोरोगको उपचार गर्न आउनेको संख्या दिनानुदिन बढ्दै गएको अस्पतालको भनाई छ ।





