चितवन, भाद्र २५
चितवनमा आत्महत्या रोकथाम सम्बन्धी संचारकर्मीको भूमिका विषयक एकदिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज (मंगलबार) नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बागमती प्रदेश हेटौंडाको आयोजनमा आत्महत्या रोकथाम सम्बन्धी संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा आत्महत्या बढ्नुको कारण र यस्तो अवस्थामा देखिने समस्या, आत्महत्याको व्यवहारमा असंवेदनशिल रिपोर्टिङले पार्ने नकरात्मक र संवेदनशिल रिपोर्टिङले पार्ने सकरात्मक प्रभाव बारेमा अन्तरक्रिया गरिएको हो ।
स्वास्थ्य निर्देशनालय हेटौंडाका डा. अर्जुन पौडेलले आत्महत्या आँफैमा अत्यन्तै संवेदनशिल बिषय भएकाले बेलैमा ध्यान पुर्याएमा आत्महत्या रोगथाम गर्न सकिने बताउनुभयो । उहाँले आत्महत्या सम्बन्धी सञ्चार माध्यममा आउने जिम्मेवारपूर्ण रिपोर्टिङ्गले देखासिकी गरेर हुने आत्महत्याको जोखिम बढाउने हुँदा यस्ता विषयमा बढी ख्याल गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, धेरै जसो सञ्चार माध्यममा आउने आत्महत्या सम्बन्धी रिपोर्टिङ्गमा स्पष्ट रूपमा आत्महत्याको विधिको वर्णन गरिएको हुन्छ र आत्महत्याका बारेमा व्यापक रूपमा रहेका भ्रमपूर्ण सूचनाहरू पटक पटक प्रसारण र प्रकाशन गरिएको पाइन्छ । यस्तो अवस्थामा जोखिममा रहेका व्यक्तिहरूले आत्महत्याको देखासिकी गर्ने सम्भावना बढी हुन्छ।
अप्ठ्यारो अवस्थामा सहयोग खोजेका वा सफलताका कथाहरूले आत्महत्या रोकथाममा मद्दत पुर्याउन सक्ने हुनाले संचारकर्मिले यसतर्फ बढी ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।
त्यस्तै कार्यक्रममा मेन्टल हेल्थ अफिसर डा.अनुप बिक्रम बिसीले अहिले देशैभर आत्महत्याका घटना बढीरहेको बताउनुभयो । नेपालमा मात्रै नभएर विश्वभरनै आत्महत्याको घटना बढ्नु चिन्तनको बिषय भएको बताउनुभयो । मानिसहरुले अनुवंशिक, मनोवैज्ञानीक, सामाजिक, पारिवारिक वातावरणका कारण आत्महत्या गर्ने गरेको उहाँले बताउनुभयो । यसको लागि आत्महत्या गर्ने कारण पहिचान गरी रोकथाममा लाग्नुपर्ने उहाँको भनाई थियो ।
आत्महत्या न्युनिकरणका लागि मिडियाको महत्वपूर्ण भूमिका हुने हुँदा आत्महत्या घटनाका कस्ता खालका समाचारलाई कसरी सम्प्रेशन गर्ने, कस्ता बिषयलाई हाईलाइट गर्ने भन्ने बारे ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।
भरतपुर अस्पतालका डा. प्रज्वल श्रेष्ठले मानसिक समस्या र यसको न्यूनीकरणका विषयमा ध्यान दिनुपर्ने भन्दै सुझवा दिनुभएको हो ।
नेपाल प्रहरीको तथ्याङ्ग अनुसार नेपालमा गत आर्थिक बर्ष २०८०-८१ को एक बर्षको अवधिमा ७ हजार २२३ जनाले आत्महत्या गरेका थिए ।
नेपालमा दैनिक सरदर २० जनाको आत्महत्याबाट मृत्यु हुन्छ । विश्वभर मृत्यु हुने प्रमुख कारणहरूमध्ये आत्महत्या पन्ध्रौं प्रमुख कारणको रूपमा रहेको छ ।
हरेक १ जनाको आत्महत्याबाट भएको मृत्युले कम्तिमा १३५ जनालाई प्रत्यक्ष असर पार्ने र हरेक आत्महत्या पछाडि २०-२५ पटक प्रयास हुन्छ भन्ने तथ्याङ्ग रहेको छ ।
नेपाल सरकारले आत्महत्या न्यूनिकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। आत्महत्या रोकथामका लागि २४ सै घण्टा निस्शुल्क परामर्श दिन राष्ट्रिय हेल्पलाईन ११६६ सञ्चालनमा रहेको छ।






