साप्ताहिक राशिफल-WEEKLY RASHIFAL
मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
याे साता बुधवारसम्म शुभफलदायी रहनेछ। साधारण कामले पनि दक्षता प्रदर्शन गर्ने अवसर दिलाउन सक्छ। असल विचार र मेहनत लाेकप्रियताकाे कारक बन्नेछ। नाेकरी तथा राजनीतिमा आफ्नाे प्रभाव बढाउन सकिनेछ। व्यवसायमा प्रगति हुनेछ। आयआर्जनका स्राेत सबल बन्नेछन्। उठ्नुपर्ने रकम हातलागी हुनेछ। पहिले राेकिएका कामसमेत सम्पादन हुनेछन्। बिहीवारदेखि सरसापटमा केही रकम बाहिरिन सक्छ। सञ्चित रकम पनि पछिका लागि खर्चनुपर्ने हुन सक्छ। विदेश ताक्नेहरूका लागि यात्राकाे साइत जुर्न सक्छ। आफन्तबाट केही समयका लागि टाढा भइनेछ।
बृष – TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साताकाे प्रारम्भमा व्यावहारिक समस्या आउनाले ठूलो उपलब्धि नहुन सक्छ। नयाँ अवसरका लागि पहिलेका समस्या सुल्झाउन आवश्यक देखिन्छ। मंगलवारदेखि स्थिति साम्य हुनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेत गर्दा सफलता प्राप्त हुनेछ। काम देखाएर उपलब्धि हातपार्ने समय छ। विशिष्ट व्यक्तिका माध्यमबाट नयाँ जिम्मेवारी समेत प्राप्त हुन सक्छ। बिहीवारदेखि आयस्राेत सबल बन्ने र उठ्नुपर्ने रकम हातलागी हुने सम्भावना छ। लेनदेनसम्बन्धी पुरानाे समस्या भने दाेहाेरिन सक्छ। केही लाभांश अरूका लागि खर्चनुपर्ने देखिन्छ। सप्ताहान्तमा फजुल खर्च बढ्नेछ।
मिथुन- GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्य र अर्थका दृष्टिले साताकाे प्रारम्भ समस्यापूर्ण रहनेछ। अप्ठ्यारो समयमा आफन्त टाढा हुनेछन् र शुभचिन्तककाे साथ–सहयाेग पनि नजुट्न सक्छ। सानाे समस्याले काम अड्किनेछ। थालेकाे काम राेकिनाले साेचेकाे प्रतिफल हातलागी नहुन सक्छ। बिहीवारदेखि स्थितिमा सुधार आउनाले उत्साह जाग्नेछ। आफन्तकाे सहयाेग जुट्नेछ र प्रयत्न गर्दा सजिलै काम बन्नेछ। लगनशीलताले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समुदायको हक हितको संरक्षण हुने काम गर्न सकिनेछ। पुराना साथीभाइसँग भेटघाट हुनेछ। तारिफयाेग्य कामले प्रतिष्ठा कमाउन सफल भइनेछ।
कर्कट – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बीचमा केही समस्या आए पनि साता समग्रमा शुभफलदायी रहनेछ। व्यावसायिक काममा राम्रो फाइदा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। रमाइलाे यात्रा गर्ने साइत जुर्न सक्छ। मंगलवार र बुधवार बन्ने ग्रहयाेगले आफन्तमा मतभेद र वादविवाद निम्त्याउन सक्छ। विवादास्पद काममा फस्नाले परिस्थिति प्रतिकूल बन्नेछ। स्वास्थ्य कमजाेर रहनेछ र अर्थ अभावले पनि सताउन सक्छ। अप्ठ्याराे पर्दा अग्रजहरूकाे साथ–सहयाेगले समस्या टर्न सक्छ। बिहीवारदेखि नयाँ याेजना राेकिए पनि पहिलेकाे सुधारात्मक परिणामले उत्साह जगाउनेछ। सप्ताहान्तमा लक्ष्यमा पुग्न सकिनेछ।
सिंह – LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
याे साता बुधवारसम्म उपलब्धिमूलक रहनेछ। मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। सरल जीवनशैलीले अरूलाई प्रभावित बनाउन सकिनेछ। नयाँ काम प्रारम्भ गर्न सकिनेछ। रमाइलो यात्राका बीच महत्त्वपूर्ण भेटघाट हुने सम्भावना छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। बिहीवारदेखि स्वास्थ्य कमजाेर बन्नुका साथै आकस्मिक खर्च पनि बढ्न सक्छ। परिबन्धले काम राेकिने ग्रहयाेग छ। शुभचिन्तकहरूकाे साथ–सहयाेग जुट्नाले नियमित काम भने सम्पादन हुनेछन्।
कन्या – VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साताकाे प्रारम्भ र अन्त्यमा केही समस्या आउनेछन्। बीचमा महत्त्वपूर्ण उपलब्धि प्राप्त हुनेछ। सुरुमा पेटकाे समस्याले दैनिकी प्रभावित बन्न सक्छ। अध्ययन र काममा ध्यान दिन नसकिएला। मंगलवारदेखि स्थितिमा सुधार आउनाले रोकिएको काम बन्नेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई राेक्न सफल भइनेछ। शत्रु र राेग परास्त हुनेछन्। व्यापार बढ्नाले मनग्य धनलाभ हुनेछ। आतिथ्य खर्चिलाे देखिए पनि रमाइलाे भेटघाट हुनेछ। मित्रता र प्रेमकाे बन्धन पनि कसिनेछ। व्यवसायले उपलब्धिमूलक यात्राकाे साइत जुराउनेछ। सप्ताहान्तमा केही धनमाल हराउन सक्छ, सजग रहनुहाेला।
तुला – LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेकाे समस्याले बुधवारसम्म स्वास्थ्य कमजाेर रहने देखिन्छ। सुरुकाे समय अलमलमा बित्नेछ। घर–परिवारमा असमझदारी बढ्नाले मन अशान्त रहनेछ। आँटेकाे काम सम्पादन गर्न केही समय लाग्न सक्छ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। राम्रो नतिजा प्राप्त गर्न काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। प्रतिस्पर्धीहरू सजिलै पराजित हुनेछन्। मिहिनेत गर्दा चिताएको काम सम्पादन हुनेछ। व्यापार र उद्योगमा पनि विशेष फाइदा हुनेछ। सप्ताहान्तमा केही खर्चिलो काम गर्नुपरे पनि मालमत्ता जोड्न सकिनेछ।
वृश्चिक – SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बीचमा केही समस्या आए पनि याे साता उपलब्धिमूलक रहनेछ। अवसर जुट्नाले ठूलै काम आँट्न सकिनेछ। सानाे प्रयत्नले दिगो काम शुभारम्भ हुन सक्छ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। मंगलवारदेखि पारिवारिक समस्याले सताउन सक्छ। काममा अवसरवादीहरूबाट सजग रहनुपर्ला। शुभचिन्तकहरू टाढा हुनाले पनि दु:ख पाइनेछ। बिहीवारपछि नयाँ काममा हातहाल्न सकिनेछ। अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर जुट्नेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सप्ताहान्तमा विशेष उपलब्धि प्राप्त हुने देखिन्छ।
धनु – SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रारम्भमा साेमवारसम्म र अन्त्यमा बिहीवारपछिका दिन प्रतिकूल रहनेछन्। सानाेतिनाे काममा फजुल खर्न बढ्न सक्छ। बेसुरमा अरूलाई गाली गर्ने बानीले समस्या निम्त्याउनेछ। समाजमा आफ्ना कमजाेरीप्रति प्रश्न उठ्न सक्छ, सजग रहनुहाेला। मंगलवार र बुधवार उद्यमीहरूका लागि विशेष फलदायी रहनेछन्। राेकिएकाे काम दोहोर्याउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आर्थिक रूपमा मनग्य फाइदा हुनेछ। जुझारू कार्यशैलीले विशेष अवसर दिलाउनेछ भने पुरुषार्थ देखाएरै लाभ लिन सकिनेछ। सहयोगीहरूले साथ दिनेछन्। आफन्तको सहयोगले फाइदा दिलाउनेछ।
मकर- CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साताकाे प्रारम्भ र अन्त्य केही संघर्षमय रहनेछ। सुरुमा ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। स्वास्थ्य कमजाेर रहनेछ। साथीभाइ टाढा हुनेछन्। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। मंगलवारदेखि शुभचिन्तकहरूको सहयोग जुट्नाले चिताएको काम बन्नेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। साथीभाइको सहयोग जुट्नाले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ। प्रभावशाली व्यक्तिलाई समेत प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो काम प्रारम्भ हुने समय छ। सप्ताहान्तमा पारिवारिक समस्या देखापर्नेछ।
कुम्भ – AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साताकाे प्रारम्भ केही खर्चिलाे हुने देखिए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। सुरुमा आम्दानी राेकिनाले अर्थ अभाव देखा पर्न सक्छ। पाउकाे समस्याले यात्रामा समस्या आउला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ। मंगलवारदेखि विभिन्न अवसर प्राप्त हुनाले उत्साह जाग्नेछ। आलोचकहरूले पनि प्रशंसा गर्न थाल्नेछन्। लाभप्रद कामको जिम्मेवारी हातलागी हुनेछ। अनुभव र आत्मविश्वासले सफलता प्राप्त हुनेछ। सप्ताहान्तमा उपहारका साथै धनलाभ हुने सम्भावना छ। स्राेत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ। वादविवादमा भरसक अघि नसर्नुहोला।
मीन – PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बीचमा केही समस्या आए पनि याे साता निकै उपलब्धिमूलक रहनेछ। सुरुमा आयआर्जन राम्रो हुनेछ। व्यापारमा लाभांश बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। सहयोगीहरू फेला पर्नेछन्। तर मंगलवारपछि सञ्चित रकम खर्च गर्नुपर्ने हुन सक्छ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। फजुल खर्चका बीच कामको बोझ बढ्न सक्छ। आफन्तहरू टाढा हुनेछन्। तापनि सप्ताहान्तमा परिस्थिति अनुकूल हुनुका साथै प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले नाम र दाम दिलाउनेछ।





