चितवन, असोज ६
असुरक्षित गर्भपतन रोक्नका लागि मिडियाले विशेष भूमिका खेल्नु पर्नेमा विज्ञहरुले जोड दिएका छन् । स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको सुरक्षित गर्भपतनका लागि जवाफदेहिता मिडिया सचेतना कार्यक्रममा बोल्दै उक्त कुरामा जोड दिएका छन्। सकेसम्म गर्भपतन नगर्ने र गराउनै परेपनि सूचीकृत तालिम प्राप्त र दक्ष जनशक्तिबाट गर्भपतन गराउन उनीहरुले जोड दिएका हुन्।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले सुरक्षित गर्भपतनको लागि बागमती प्रदेश सरकारले गरेको प्रयासका विषयमा प्रकाश पारेका थिए।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सुरक्षित गर्भपतनमा जोड दिँदै त्यसमा लागि मिडियाले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए।
बागमती प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक तिवारी सुरक्षित गर्भपतनमा बढावा र असुरक्षित गर्भपतनलाई निरुत्साहित गर्न प्रदेश निर्देशनालयले चालिरहेको कदमको चर्चा गरे।
निर्देशक तिवारीले नेपालमा आर्थिक वर्ष २०८०÷८१ मा एक लाख दुई हजार ३५७ जनाले सुरक्षित गर्भपतन गरेको तथ्याङ्क प्रस्तुत गरे । सरकारले तोकेको स्वास्थ्य संस्थाबाहेक पनि गर्भपतन गराउने गरेकोले तथ्याङ्कमा नसमेटिएकाहरू पनि प्रसस्तै रहेका उनले बताए ।
भरतपुर अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुनिलमणि पोखरेलले सुरक्षित गर्भपतनको अवस्था, समस्या, चुनौती र अवसरका विषयमा आफ्नो धारणा राखेका थिए।
चितवन स्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपखेतीले चितवन जिल्लामा सुरक्षित गर्भपतनको अवस्था र सूचीकृत संस्थामा गर्भपतन नगराउनुका कारण खुलाएका थिए।
त्यस्तै भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीलेले पनि सुरक्षित गर्भपतनका लागि आफ्नो क्षेत्रमा पर्ने स्वास्थ्य संस्था र महानगरपालिका खेलिरहेको भूमिकाको विषयमा धारणा राखे।
भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत केशव भट्टले सुरक्षित गर्भपतनको लागि स्थानीय सरकारले खेलेको भूमिका र भरतपुर महानगरपालिकाले गरिरहेको प्रयासको जानकारी गराएका थिए।
कार्यक्रममा सुरक्षित गर्भपतनका लागि मिडिया र सूचीकृत संस्थाको भूमिकामाथि पनि छलफल तथा अन्तरक्रिया भएको थियो।







