चितवन, असोज ६
चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा हुन लागेको ‘प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१’को तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको तयारी बारे आयोजकले शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
नेपालीहरुको महान् चाड बडा दशैं, तिहारको पूर्व सन्ध्यामा “स्वास्थ्यका लागि खेदकूद, राष्ट्रका लागि खेलकूद”भन्ने नाराका साथ भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी यो प्रतियोगिता आयोजना गरिएको हो ।
असोज १२ गते भरतपुरस्थित चितवन मिडटाउन रिसोर्टमा हुने फाइनल प्रतियोगिताको उद्घाटन नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका केन्द्रीय अध्यक्ष राजेश बाबु श्रेष्ठले गर्ने तय भएको छ ।
“प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” अन्तर्गत हुने मिष्टर चितवन पुरुष शारीरिक सुगठन प्रतियोगितातर्फ ५५ के.जी., ६० के.जी. ६५ के.जी., ७० केजी, ७५ केजी, ७५ केजीभन्दा माथि प्रतिस्पर्धा गराईनेछ । त्यस्तै प्रतियोगिता अन्तर्गत ५० वर्षभन्दा माथिका व्यक्तिहरुबीच माष्टर वेट खुल्ला पुरुषतर्फ पनि प्रतिस्पर्धा गराईने चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका अध्यक्ष प्रकाश गुरुङ्गले जानकारी दिनुभयो ।
प्रत्येक वेट क्याटगोरीका बिजेता (गोल्ड मेडलिष्ट) लाई रु ३० हजार, फष्ट रनरअफ (सेकेण्ड) लाई २० हजार र सेकेण्ड रनरअफ (तृतीय) हुनेलाई रु १० हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्टह्याम्पर प्रदान गरिनेछ । छुट्टाछुट्टै ६ वटा वेट क्याटगोरीबाट छनौट भएका गोल्ड मेडलिष्टहरु बीच प्रतिस्पर्धा गराए पछि छनौट हुने प्रतियोगिले नै मिष्टर चितवन २०८१ को बिजेता बन्नेछन् । बिजेताले एकलाख पचास हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
“प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” को महिलातर्फ खुल्ला रुपमा भाग लिन पाउने व्यवस्था मिलाइएको छ । महिलातर्फ हुने ओमन एथलेटिक्स फिजिक्स प्रतियोगितामा बिजेता हुनेले रु ५० हजार, फष्ट रनरअफ (सेकेण्ड)हुनेले रु २५ हजार र सेकेण्ड रनरअफ (तृतीय)हुनेले रु१५हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । यस प्रतियोगिता सम्पन्न गर्न २० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताको अन्तर्राष्ट्रिय रुपमा विभिन्न कार्यक्रमहरुमा निर्णायकको भूमिका निर्वाह गर्नुभई पाँच पटकसम्म मिष्टर नेपाल बिजेता प्रताप काजी बरिया प्रमुख निर्णायकको भूमिका रहने गरी ९ जना सहायक निर्णायकहरुले कार्याक्रममा सहभागिता जनाउने नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका सचिव दिनेश कुमार राजभण्डारीले जानकारी दिनुभयो ।





