काठमाडौँ, कार्तिक ६
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने योजना नरहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साँझ विपक्षी दलबाट ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओली त्यस्तो बताएका हुन्।
‘प्रधानमन्त्री ओलीले भनेका छन्, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने मेरो कुनै योजना छैन। अरु साथीहरुले पहिले त्यस्तो गर्नुभएको थियो भनेर मलाई शंका गर्नुभएको होला मेरो त्यस्तो कुनै योजना छैन।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिपक्ष दलले संसद छलेर अध्यादेश ल्याए यो राजनीतिक व्यवस्थालाई खतम पार्ने र सरकारलाई समेत अप्ठ्यारो पार्छ भनेर सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए।
उनले सरकारले जनताको काम गर्न नसकेको, बाढी, पहिरो पीडितलाई समयमै राहत र पुनःस्थापना गर्न नसकेको भन्दै सात दिनभित्र राहत र एक महिनाभित्र पुनःस्थापना गरिसक्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको पनि जानकारी दिए।





