काठमाडौं ,पुस २५
आज सोमबारदेखि गत मंसिर ४ गते सम्पन्न भएकाे आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन सुरू हुने भएकाे छ ।
निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार पहिलो पटक अधिवेशन प्रारम्भ हुन लागेको हो । पहिलो बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बस्नेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार सोमबार दिउँसो १ बजे दुवै सदनको बैठक आरम्भ हुनेछ। अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ ।
बैठकका अन्य कार्यसूची यसअघि नै टुङ्गो लागिसकको छ। बैठक यसअघिकै प्रतिनिधि सभाको नियमावलीअनुसार सञ्चालन हुनेछन्। पहिलो बैठकबाट प्रतिनिधि सभा नियमावली २०७५ लाई पुनः अनुमोदन गराइनेछ।
यसअघि सर्वदलीय बैठकले अर्को व्यवस्था नभएसम्म पुरानै नियमावलीका आधारमा बैठक सञ्चालनको निर्णय गरेको थियो। यो नियमावली संशोधन गर्ने भन्ने दलभित्र समझदारी छ। पहिलो बैठकमा अधिवेशन आह्वानका लागि राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ। यस्तै प्रधानमन्त्री चयन र मन्त्रिपरिषद् गठनबारेको पत्र पनि संसदलाई जानकारी गराइनेछ। यस्तै राष्ट्रिय सभामा पनि अधिवेशन आह्वानको पत्र, प्रधानमन्त्री चयनको पत्रको बेहोराबारे जानकारी गराइनेछ।





