चितवन, पुस २७
चितवन महोत्सव स्थलभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’ हिजो देखि सुरु भएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनले नेपाली उत्पादनलाई प्रर्वद्धन गर्नका लागि एक्स्पोको सञ्चालन गरेको हो ।
एक्स्पोको हिजो (मंगलबार) भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै अधिकारीले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न एक्सपोले सहयोग पुग्ने बताउनुभयो । उहाँले भरतपुर महानगरपालिकाले नेपाली उत्पादनलाई बृद्धि गर्नका काम गरिरहेको बताउनुभयो ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले नेपाली उत्पादनले विदेशी उत्पादनसँग पनि प्रतिस्पर्धा गर्न सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभएको छ । नेपाली उत्पादनको राम्रो ब्राण्डिङ पनि हुन नसकेको उहाँको भनाई छ ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवन महोत्सवमा एक्स्पो सेन्टर स्वदेशी उत्पादनलाई प्रर्वद्धन गर्नका लागि राम्रो प्लेटफम भएको बताउनुभयो । चिवतन महोत्सवमा अहिले तोरी र महलाई प्राथमिकता दिएर प्रर्वद्धन गरिएको जानकारी दिनुभयो । कृर्षिसंगै पर्यटन, उद्योग, शिक्षा र स्वास्थ्यको प्रर्वद्धन गरिएको उहाँको भनाई छ ।
नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले सरकारको न्युनतम साझा कार्यक्रम ‘मेक इन नेपाल’लाई ‘मेड इन नेपाल एक्स्पो’ले सहयोग पुग्ने विश्वास गर्नुभयो । एक्स्पोमा ४० वटा स्टल रहेका छन् । १० वटा स्टार्ट अप विजनेशका स्टल रहेका छन् । भर्खरै उद्यमशिल बनेका युवाहरु बीच ‘विजनेश आइडिया’को विषयमा मञ्चले प्रतिस्पर्धा पनि गराउँदै छ । उत्कृष्ट हुनेले नगद एक लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ ।





