काठमाडौं , पुस २९
माघ ८ गतेका लागि निर्धारित राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा भाग लिन आठ राजनीतिक दलले निवेदन दर्ता गराएका छन्। निर्वाचन आयोगले उपनिर्वाचनको दल दर्ताका लागि पुस २५ गतेदेखि २८ गतेको समयसीमा निर्धारण गरेको थियो।
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार आठवटा राजनीतिक दलले भाग लिन निवेदन दर्ता गराएका हुन् ।
आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले निवेदन दिएका हुन्। यस्तै नेकपा एकीकृत समाजवादी र बहुजन शक्ति पार्टीले पनि निवेदन दर्ता गराएका छन्।
रिक्त रहेको सदस्य पदको उपनिर्वाचनमा लुम्बिनी प्रदेशअन्तर्गतका स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यलाई मताधिकार हुनेछ।
लुम्बिनी प्रदेशबाट अन्य समूहतर्फ रिक्त रहेको राष्ट्रिय सभा सदस्यको एक पदको उपनिर्वाचन माघ २५ गते हुँदै छ ।
आयोगले उपनिर्वाचनका लागि माघ ११ गते उम्मेदवारी दर्ता हुने गरी निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ।





