घोराही , माघ १०
लुम्बिनी प्रदेशअन्तर्गत माघ २५ गते हुन लागेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवारको टुंगो लगाउने कसरतमा जुटेका छन्।
उम्मेदवारी दर्ताको मिति नजिकिँदा सत्तारुढ नेकपा एमाले र विपक्षी नेपाली काँग्रेसमा उम्मेदवारी टुंगो लगाउन अन्तिम कसरत गरेका छन्। नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त उक्त सिटका लागि माघ २५ गते उपनिर्वाचन हुन लागेको हो।
राष्ट्रियसभा सदस्यको करिब १ वर्षको कार्यकाल रहनेछ। उपनिर्वाचनका लागि घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी प्रदेश निर्वाचन कार्यालयले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ।
माघ ८ गते मतदाता नामावली प्रकाशन, नामावलीमा दाबी विरोध वा उजुरी, माघ ११ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका प्रदेश निर्वाचन कार्यालय दाङले सार्वजनिक गरेको छ।
त्यसैगरी माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघ १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ, माघ १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताउनुभयो ।





