काठमाडौँ ,माघ १५
गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीले चेतावनी दिएको छ।
सर्वोच्च अदालतको आदेशपछि आज मात्रै पुनः नेपाली नागरिकता प्राप्त गरेका रवि लामिछानेलाई पार्टी सदस्यतादेखि फेरि सभापतिको जिम्मेवारी सुम्पिएको स्वतन्त्र पार्टीले सरकारमा बसिरहन गृह मन्त्रालय नै पाउनुपर्ने बटम लाइन बनाएको हो।
गृहमन्त्रीमा पुनः लामिछाने नै जाने या अरूलाई पठाउने भन्ने निर्णय भने स्वतन्त्र पार्टीले गरेको छैन। नेपालको संविधानको धारा ७८ मा संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री बन्न पाउने व्यवस्था छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरूसँग लामिछानेलाई गृहमन्त्रीमा पुनर्बहाली गराउने वा नगराउने विषयमा छलफल गरिरहनुभएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा नेपाली नागरिकता प्राप्तिका लागि पुनः गर्नुपर्ने प्रक्रिया पूरा गरी प्रमाणपत्र लिएसँगै लामिछाने आजैबाट पार्टीको जिम्मेवारीमा फर्किनुभएको हो ।
शुक्रबार सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेका लामिछानेले नेपाली नागरिकताका लागि गर्नुपर्ने प्रक्रिया नगरी पुरानै नागरिकता प्रयोग गरी निर्वाचन लडेको भन्दै सांसद पद खारेज गरिदिएको थियो।
जिल्ला प्रशासन कार्यालयबाट राहदानी विभाग पुगेर पासपोर्ट फिर्ता गरेका लामिछाने त्यसपछि पार्टीको बैठकमा पुग्नुभएको थियो ।





