भरतपुर, जेठ ३
भरतपुर-४ स्थित बाल्मिकी शिक्षा सदनले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो साख कायम राखेको छ।
हालै प्रकाशित एसईईको नतिजा अनुसार विद्यालयका ९४.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। परीक्षामा सहभागी कुल १५० विद्यार्थीमध्ये दुई जनाले ४ जीपीए ल्याएर विद्यालयको नाम उच्च राखेका छन्। प्रिन्सिपल प्रदिप पौडेलका अनुसार ४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरूमा अनुभव पौडेल र विप्लव गौतम रहेका छन्। यी दुवै विद्यार्थीले सोही विद्यालयमा विज्ञान विषय लिएर कक्षा ११ र १२ अध्ययन गर्ने निर्णय गरेका छन्।
त्यसैगरी विद्यालयले गतबर्ष कक्षा १२ मा पनि सानदार नतिजा निकालेको थियो। प्रिन्सिपल पौडेलका अनुसार विज्ञानतर्फ: ९९.२१ प्रतिशत र व्यवस्थापनतर्फ: ९६.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
विशेषतः गत वर्षको कक्षा १२ को परीक्षामा विज्ञानतर्फ अमन पौडेलले ३.९६ जीपीए ल्याई नेपाल प्रथम हुन सफल भएका थिए भने व्यवस्थापनतर्फ अनुरोध कोइरालाले ३.८५ जीपीएका साथ चितवन जिल्ला द्वितीय स्थान हासिल गरेका थिए ।
यस्तै, केही महिनाअघि प्रकाशित कक्षा ८ को (बीएलई) परीक्षामा पनि आयन त्रिपाठी, अन्वेषा अधिकारी र प्राञ्जली पराजुली गरी तीन जनाले ४ जीपीए प्राप्त गरेका थिए।
विद्यालयको यस निरन्तर सफलताको पछाडि विद्यार्थीको कडा परिश्रम, शिक्षकहरूको लगनशीलता र अभिभावकहरूको जिम्मेवारीपूर्ण भूमिका मुख्य रहेको प्रिन्सिपल पौडेलले बताउनुभयो। उत्कृष्ट नतिजासँगै बाल्मिकी शिक्षा सदन चितवनकै अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ।





