काठमाडौँ, जेठ ४
नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी निर्वाचित भएका छन्। शनिबार सम्पन्न २१औँ महाधिवेशनबाट केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
प्रतिस्पर्धी सविन श्रेष्ठलाई भारी मतान्तरले पराजित गर्दै उत्तम केसी विजयी बने। कुल ३५६ मत खसेको निर्वाचनमा केसीले २१६ मत प्राप्त गरे भने सविन श्रेष्ठले १३२ मत पाए।
उपाध्यक्ष पदमा शिवहरी बैरागी र पूजना प्रधान विजयी भएका छन्। त्यसैगरी महासचिवमा सुनील कटवाल, सचिवमा गोपाल ढकाल, कोषाध्यक्षमा तेजुला खतिवडा तथा सह–कोषाध्यक्षमा पवन केसी निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिका सदस्यहरूमा दमन रुपाखेती, इन्द्रबहादुर लामा ‘खम्बे’, चन्द्रकला राई ‘लब्ली संगम’, छुल्ठिम गुरुङ, नवीनकुमार श्रेष्ठ, जीवन थापा, सुलेमान इकु, रश्मि भट्ट, चन्द्रकला ‘मोनीका’ दाहाल र श्रीदेव भट्टराई चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षसम्म संघको नेतृत्व गर्नेछ।
यो निर्वाचनलाई नेपाली चलचित्र कलाकारहरूको नेतृत्व चयनका लागि महत्वपूर्ण मानिएको छ, जहाँ कलाकारहरूको हकहित, चलचित्र क्षेत्रको विकास र संस्थागत मजबुती मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ।





