काठमाडौं ,माघ २७
राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा भविष्यमा आउनसक्ने असहजता र मुलुकको आर्थिक स्थायित्वलाई ध्यानमा राखेर कसिलो मौद्रिक नीति आएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताउनुभएको छ ।
शुक्रबार राष्ट्र बैंकका प्रवक्ता भट्टले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले व्यवस्था गरेका नीतिका विषयमा कुरा गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यदिशालाई अर्धवार्षिक समिक्षामा सजगतापूर्वक विगतकै कसिलो नीतिलाई निरन्तरता दिइएको स्वीकार गर्नुभयो । प्रवक्ता भट्टले मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था विगतको तुलनामा केही सहजता भएपनि स्टेकहोल्डरको अपेक्षा बढ्दै गएको र केही सहजता गरिदिनुपर्ने देखिएकाले राष्ट्र बैंकले केही सहजता कामय गर्नेगरी नीतिगत व्यवस्था गरेको दाबी गर्नुभयो ।
उहाँले ओभरनाइट तरलता सुविधाको दर ८.५ प्रतिशतको बैंक दरमा रहेको ब्याजदरलाई ७ प्रतिशतमा ओभरनाइट तरलता सुविधा दिने व्यवस्था गरेको बताउनुभयो । उहाँले ७ प्रतिशतमा ओभरनाइट तरलता सुविधा दिने व्यवस्थाले बैंकको ब्याजदर घट्ने बताउनुभयो । उहाँले पछिल्लो समय बैंकको ब्याजदर घट्दो अवस्थामा रहेकाले बजारमा ऋणीहरुलाई परेको ब्याजदरको दवाव समग्र व्यवसायिक वातावरणमा थप मनोवल बढाउनु पर्ने आश्यकता रहेको बताउनुभयो ।





