काठमाडौं ,फागुन ६
निर्वाचन आयोगले भोलि फागुन ७ गते सातौँ निर्वाचन दिवस मनाउने तयारी गरेको छ ।
‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ निर्वाचन सञ्चालन र व्यवस्थापनमा कार्यरत आयोगले दिवसका अवसरमा नेपाल टेलिभिजन र रेडियो नेपालबाट अन्तरसंवाद प्रसारण, प्रमुख आयुक्त दिनेशकुमार थपलियाको सन्देश प्रसारण तथा प्रकाशन, कर्मचारी सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नेलगायत कार्यक्रम तय गरेको छ ।
दिवसका दिन आयोगको कान्तिपथस्थित परिसरमा हुने समारोहमा प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयका सम्पूर्ण कर्मचारी ‘भर्चुअल’ माध्यमबाट सहभागी हुनेछन् ।
गत वैशाख ३० गते स्थानीय तह तथा मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । आयोगका लागि यो वर्ष निर्वाचन वर्षका रूपमा व्यतीत भएको छ ।





