काठमाडौं , फागुन ८
प्रधानन्यायाधीशको नियुक्ती नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै कानून व्यवसायीहरुले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।
सोमबार सर्वोच्च अदालत बार एशोसिएशनको ४९ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित भएका कानून व्यवसायीहरुले संचारकर्मी सँग कुराकानी गर्दै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडी बढाउन माग गरेका हुन् ।
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले लामो समयदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रिक्त हुनु शोभनिय नभएको बताउनुभयो । प्रधानन्यायाधीश नहुँदा न्याय सम्पादनमा असर पर्ने साथै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाप्रति परनिर्भर हुने अवस्था आउने उहाँले बताउनुभयो। उहाँले प्रधानन्यायाधीश नियुक्त हुन नसक्नु राजनीतिक दलहरुको अकर्मण्यता भएको बताउनुभयो ।
त्यस्तै,वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतलाई कायममुकायम प्रधानन्यायाधीशबाट चलाउनु संविधान बिरुद्धको काम भएको बताउनुभयो । उहाँले छिटोभन्दा छिटो स्थायी प्रधानन्यायाधीश नियुक्त गर्न संसद लगायतका सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो ।
सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष हरिशंकर निरौलाले कामयमुकायम प्रधानन्यायाधीशले लामो समय सर्वोच्च अदालत चलाउनु उचित नभएको बताउनुभयो । उहाँले संवैधानिक इजलाशको नेतृत्व प्रधानन्यायाधीशले नै गर्नुपर्ने बताउनुभयो । कायम मुकायमले निडर भएर गुणस्तरीय फैसला गर्न नसक्ने उहाँको भनाइ छ ।
त्यस्तै, नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम छोटो समयको लागि परिकल्पना गरिएको पद भएको बताउनु भयो । उहाँले स्थायी प्रधानन्यायाधीश बनाएर अदालत चलाउनेतर्फ चासो नदेखाइएको बताउनु भयो । लामो समयदेखि कायममुकायम प्रधानन्यायाधीशबाटै संवैधानिक इजलास चलिराखेको भन्दै उहाँले यस्तो हुँदा न्याय सम्पादनमा फरक पर्ने बताउनु भयो । उहाँले प्रधानन्यायाधीश नियुक्त गर्न सरकार र संसदलाई आग्रह गर्नुभयो ।





