१८ फाल्गुन २०७९, बिहीबार ०७:३३
काठमाडौं ,फागुन १८
राष्ट्रपति निर्वाचनमा एउटै मोर्चा बनाएका ८ दलले आज आफ्ना संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्। आज राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो।
राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका संघीय सांसदहरूलाई आज बिहीबार दिउँसो १ बजेदेखि प्रशिक्षण दिने कार्यक्रम रहेको छ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रशिक्षण कार्यक्रममा कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूलाई खबर गरिएको छ। प्रशिक्षण रोयल बैंक्वेट तीनकुनेमा हुने जनाईएको छ।





