काठमाडौं ,फागुन १९
जिल्ला प्रहरी परिसर काठमाडौंले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ।
प्रहरी परिसर काठमाडौंले बिहीबार सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो। प्रहरीले आत्मीय व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहोरपानी प्रयोग गरेमा कानूनबमोजिम कारबाही गर्ने बताउनुभयो ।
रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भीडभाड हुने स्थानमा होली नखेल्न, कुनै पनि आपराधिक गतिविधि हुन लागे वा भएको थाहा भए तत्काल नेपाल प्रहरीको हटलाइन १०० मा खबर गर्न पनि प्रहरीले आग्रह गरेको छ।
प्रहरीले महँगा गरगहना लगाई होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन पनि आग्रह गरेको छ।





