चितवन , चैत्र १
धार्मिक एवं पुरातात्विक महत्व बोकेको चितवनको माडी–१ स्थित गोद्धकमा यसपटक भव्य गोद्धक राम चरित्रकथा यज्ञ हुने भएको छ । मेलास्थल गोद्धकमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गोद्धक क्षेत्र विकास समितिका अध्यक्ष तुल्सिङ गुरुङले चैत्र १३ गतेदेखी १७ गतेसम्म ५ दिनसम्म भव्यरुपमा यज्ञ हुने बताउनुभयो । यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता गरिने बताउनुभयो ।
माडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष अमितकुमार लामाले गोद्धक क्षेत्रमा पर्ने परशुरामकुण्ड, अष्ठमुख शिललिङ्, भिमसेन मन्दिर वाल्मीकि आश्रम लगायतका स्थानको प्रवद्र्धनका लागि नगरपालिकाबाट १५ लाख र वडाबाट ५ लाख गरी २० लाख बजेट विनियोजन गरिएको बताउनुभयो । सो रकम तटबन्धन, कुण्ड सरसफाई, सत्तल निर्माण, मन्दिर व्यवस्थापन, खानेपानी लगायतका कार्यमा खर्च गरिने बताउनुभयो ।
गोद्धक राम चरित्र कथा यज्ञ सञ्चालन मुल समितिका संयोजक भरतप्रसाद तिमिल्सेनाले १३ गते कलश यात्रासहित भव्य कार्यक्रमको सुरुवात गरिने बताउँदै त्यसका लागि १८५ सदस्यीय यज्ञ सम्पादन समिति र विभिन्न उप–समिति समेत गठन गरिएको बताउनुभयो ।
ठूलो धार्मिक महत्त्व बोकेको गोद्धक क्षेत्रमा चैत्र रामनवमीमा नेपाल र भारतका लाखौँ भक्तजनहरु उपस्थित भई परशुराम कुण्डमा स्नान गरी गोद्धक क्षेत्रको मेला भर्ने परापूर्वकालदेखिको इतिहास छ ।
माडी नगरपालिका–१ मा पर्ने गोद्धक क्षेत्र पुग्न माडी–हुलाकी सडकखण्डअन्तर्गतको सेरूवा चोकबाट करिब तीन किलोमिटर पश्चिमतर्फ लाग्नुपर्छ । मेलास्थलबाट भीम इनार अवलोकन गर्न तीन किलोमिटर तथा शिव मन्दिर दर्शन गर्न चार किलोमिटर पश्चिम लाग्नुपर्छ । गोद्धक क्षेत्रमा द्रौपती कुण्ड, परशुराम कुण्ड, युधिष्ठिरको छाता, प्राचीन राजा विराटको गोठ, पुराना मूत्र्ति, भीम इनार रहेको छ । रिउ खोलाको दक्षिणमा रहेको सोमेश्वर पर्वतको पश्चिमतर्फको अन्तिम शिखरमा रहेको परशुराम कुण्डसमेत गोद्धक क्षेत्रमा पर्दछ । यहाँ प्रशस्त शालिग्राम समेत पाइन्छ ।





