काठमाडौं, चैत्र ९
राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा राष्ट्रपतिले यस्तो चिन्ता व्यक्त गर्नुभयो ।
कमर्शको टोलीले राष्ट्रपति पौडेललाई बधाई दिन राष्ट्रपतिनिवास पुगेको थियो। उक्त टोलीमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितका पदाधिकारी हुनुहुन्थ्यो ।
जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी वहन गर्नुपर्ने उहाँको भनाइ छ ।
राष्ट्रपति पौडेलले भने, ‘सरकारले पूर्णता पाइसकेको छैन। सरकारले पूर्णता पाएलगत्तै प्रधानमन्त्री र अर्थमन्त्रीलाई बोलाएर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउँछु।’
वर्तमान संकट समाधानका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभयो । मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने राष्ट्रपतिको कथन छ।
चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथप्रदर्शन हुनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो । मल्लले भन्नुभयो, ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन। पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधारण ऋणीमा गम्भीर असर गरेको छ।’





