प्रदिप परियार
चितवन, चैत्र १०
चितवनमा विभिन्न कार्यक्रमको आयोजना गरि १४१औँ विश्व क्षयरोग दिवस मनाईएको छ । ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ !’ भन्ने मूल नाराकासाथ चितवनको भरतपुर र सौराहामा क्षयरोग दिवसको अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरिएको हो ।
दिवसको अवसरमा हिजो (बिहीबार) साँझ नारायणगढ बजार क्षेत्रमा साइकल र्याली र नारायणगढकै क्षयरोग निवारण संस्थामा क्षयरोग उपचारमा रहेका बिरामीलाई पोषणयुक्त खानेकुरा वितरण गरिएको स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत जयराम दुवाढीले जानकारी दिनुभयो । त्यसपछि भरतपुरको चौबीसकोठी चोकमा क्षेयरोगविरूद्धको अभियानसँगै क्षयरोगका कारण मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको उहाँले बताउनु भयो ।
आज (शुक्रबार) सौराहामा आमा समूहलाई क्षयरोग तथा एचआइभी एड्ससम्बन्धी सचेतना कार्यक्रम , क्षयरोग तथा एचआइभीको परीक्षण र हात्तीमा ब्यानर प्रदर्शन गरिएको थियो ।
सन् १८८२ मार्च २४ का दिन डाक्टर रोबर्ट कोचले क्षयरोगको जीवाणु पत्ता लगाउनुभएको हो । त्यसको एक सय वर्षपछि सन् १९८२ मा २४ मार्चदेखि विश्व क्षयरोग दिवस मनाउने गरिएको हो ।
नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।













