चितवन, चैत्र १३
चितवनको माडी १ स्थित गोद्धकमा गोद्धक राम चरित्रकथा यज्ञ एवं गोद्धक मेला शुरु भएको छ ।
चैत्र १७ गतेसम्म ५ दिनसम्म यज्ञ सञ्चालन हुनेछ । प्रखरवाचक श्रद्धेय गुरु चैतन्यकृष्णको मुखारविन्दबाट राम कथा वाचन हुने छ । यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम ,ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
मेला स्थल गोद्धकमा मेला एवं यज्ञको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि माडी नगरपालिकाका नगरप्रमुख तारा कुमारी काजी महतोले धार्मिक, ऐतिहासिक, पौराणिक,पुरातात्विक लगायत विभिन्न पक्षको महत्त्व बोकेको यस क्षेत्रको विकासका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
गोद्धक क्षेत्र विकास संस्थाका अध्यक्ष तुल्सिङ गुरुङले मेला एवं यज्ञको अवलोकन गरी सहयोग गरी यहाँ रहेका धार्मिक क्षेत्रको दर्शन गरी पूण्य लाभ प्राप्त गर्न आग्रह गर्नुभयो ।
यहाँ रहेका ४ धामको अवलोकन गरी धार्मिक पर्यटनको विकास गर्ने उद्देश्य रहेको गोद्धक क्षेत्र विकास संस्थाका सचिव गंगा भुसालले बताउनुभयो ।
गोद्धक क्षेत्र विकास संस्थाका सदस्य रामजी सापकोटाले स्वागत मन्तव्य राख्दै गोद्धक क्षेत्रमा पहिलो पटक भव्य रुपमा मेला एवं यज्ञ भएको बताउनुभयो ।
गोद्धक राम चरित्र कथा यज्ञ सञ्चालन मुल समितिका संयोजक भरतप्रसाद तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतो, माडी १ का वडा अध्यक्ष अमितकुमार लामा, २ का वडा अध्यक्ष डण्डपाणी पौडेल लगायतको उपस्थिति रहेको थियो ।
ठूलो धार्मिक महत्त्व बोकेको गोद्धक क्षेत्रमा चैत्र रामनवमीमा नेपाल र भारतका लाखौँ भक्तजनहरु उपस्थित भई परशुराम कुण्डमा स्नान गरी गोद्धक क्षेत्रको मेला भर्ने परापूर्वकालदेखिको इतिहास छ ।
’संस्कार, संस्कृति र प्राकृतिक सम्पदाको बिकास, संरक्षण र संभारः पर्यटन बिकासको मुल आधार’ भन्ने नारासहित सञ्चालन सुरु भएको मेला चैत १७ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन पूर्व यज्ञमा कलश यात्रा निकालिएको थियो ।





