काठमाडौं, चैत्र १७
माध्यमिक शिक्षा परीक्षा (एसईई)का क्रममा परीक्षा हलभित्र फोटो खिच्न नपाइने भएको छ।
एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यो पटक परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्विर लिन नपाइने व्यवस्था गरेको जानकारी दिर्नुभयो । परीक्षा सुरु भएपछि सञ्चारकर्मीले परीक्षा केन्द्रका बाहिरको गतिविधिको तस्विर लिन पाउने भए पनि परीक्षा हलमा प्रवेश निषेध गरेको उहाँले बताउनुभयो ।
‘अनुगमन तथा तस्बिर लिने नाममा परीक्षा हलभित्र मानिस पस्दा विद्यार्थीको मनोबल गिर्छ, परीक्षार्थीलाई अवरोध हुने गरी तस्विर लिँदा, विद्यार्थी टोलाउने, को आयो भनेर हेर्दा लेखिरहेको उत्तर पनि बिग्रने सम्भावना र गुनासा आएकाले यो वर्ष परीक्षा हलभित्र तस्विर दिन नपाइने व्यवस्था गरेका छौँ’, उहाँको भनाई छ ।
विद्यार्थीका लागि एक मिनेट, एक सकेण्डको पनि महत्त्व हुने भएकाले परीक्षा हलभित्र तोकिएको व्यक्ति र परीक्षा समिति तथा सम्बन्धित निकायको व्यक्ति बाहेक पसेर अन्यलाई अनुगमन तथा तस्विर लिने नाममा जथाभावी परीक्षा हलमा नपठाइने भएको हो।
यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबार बिहान ८ बजे सुरु हुँदैछ।एसइई परीक्षा चैत १७ गतेबाट २९ गतेसम्म सञ्चालन हुनेछ।





