चितवन, चैत्र २५
चितवनको भरतपुर अस्पतालले स्थापनाको ६७ औं बर्ष पार गरेको अबसर पारेर साताव्यापी कार्यक्रम गरिरहेको अस्पतालले आज (शनिबार) एक समारोह आयोजना गरी बार्षिकोत्सव मनाएको छ ।
रक्तदान,बिभिन्न खेलकुद प्रतियोगिता,सरसफाई लगायतका काम गरेको अस्पतालले आज (शनिबार) बिहान पूजापाठ,सरसफाई र बिरामीलाई फलफुल बितरण गरिएको थियो भने दिउसो समारोह आयोजना गरिएको हो । सो अवसरमा अस्पताललाई उत्कृष्ट योगदान पु¥याउनुहुने बिभिन्न व्यक्ति र कर्मचारीलाई सम्मान गरिएको थियो ।
समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले अस्पतालको प्रमुख काम नै बिरामीको सेवा दिनु भएकोले यस बिषयमा कसैसंग सौदाबाजी नहुने बताउनुभयो । डा पोखरेलले भरतपुर अस्पताल भौतिक पूर्वाधार र सेवामा पनि अव्वल रहेको भन्दै यसलाई समय सापेक्ष परिवर्तन गर्ने काममा अस्पताल नेतृत्व र सबै कर्मचारी लागिरहनुपर्नेमा जोड दिनुभयो । डा पोखरेलले भन्नुभयो,“मन्त्रालयका लागि भरतपुर अस्पताल भ्याली बाहिरको सबैभन्दा महत्वपूर्ण अस्पताल हो, अस्पतालमा भीड बढ्नु राम्रो हो ,त्यसलाई व्यवस्थित गर्दे जाने हो ।”
उहॉले भरतपुरमा बिमा राम्रो भएको उल्लेख गर्दे अझै राम्रो बनाउन काम गर्नेलाई इन्सेटिभ दिई मोटिभेसन गर्न अस्पताल प्रशासनलाई सुझाव समेत दिनुभयो ।“भरतपुरमा मेडिकल कलेजको कन्सेप्ट छ,सरकारले निर्णय गरिसक्यो,अझै एकीकृत कसरी जाने भन्ने बिषय अझै छिट्टै क्लियर गर्दे जाने छौं ।” डा पोखरेलले भन्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य सचिव बद्री बहादुर खड्काले सरकारी अस्पताल गरिब निमुखाको अस्पतालको रुपमा विकास गर्नु पर्ने बताउनुभयो । बागमती प्रदेशको रिफरल अस्पतालको रुपमा रहेको यस अस्पतालको विकासमा प्रदेश सरकार रहेको भन्दै उहाँले यस अस्पतालालई शिक्षण अस्पतालको रुपमा स्तरोन्नती गर्नु सकारात्मक रहेको बताउनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, अस्पताल विकास समितिका पूर्व अध्यक्ष डा. भोजराज अधकिारी, अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेल, सरकारी चिकित्सक संघ चितवन शाखाका अध्यक्ष डा. मणिप्रसाद गौतम लगायतले बोल्नु भएको थियो । 





