काठमाडौं, चैत्र २८
नेपालमा युवाको उमेर घटाउने बारेमा छलफल भएको छ। सरकारी र सरोकारवाला निकायबीच युवाको उमेर पाँच वर्ष घटाउनेबारे छलफल सुरु भएको हो।
अहिले १६ देखि ४० वर्षकालाई युवा मानिँदै आएकोमा अब १६ देखि ३५ वर्ष कायम गर्नेमा छलफल भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी गराउनुभएको हो ।
‘संयुक्त राष्ट्रसंघ र विश्वमा भएको अभ्यासका आधारमा नेपालमा पनि युवाको उमेर कम गर्ने भन्ने बारेमा छलफल सुरु भएको छ’, उहाँले भन्नुभयो, ‘१६ देखि ३५ वर्षबीचको उमेरलाई युवा भन्ने विषयमा छलफल भएको हो। चाँडै निष्कर्षमा पुग्छौँ।’
राष्ट्रिय युवा परिषद् ऐन, २०७२ र राष्ट्रिय युवा नीति, २०७२ ले युवाको उमेर १६ देखि ४० वर्षको उमेर समूहलाई परिभाषित गरेको छ।
संयुक्त राष्टसंघ र विश्व बैंकले युवाको उमेर १५ देखि २४ वर्षको उमेर समूहलाई युवा भनेर परिभाषित गरेको छ। कार्यकारी उपाध्यक्ष बस्नेतले अधिकांश देशमा युवाको उमेर ३५ वर्षसम्म राखिएकाले नेपालमा पनि १६ देखि ३५ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषित गर्नुपर्ने सुझाव आएको बताउनुभयो ।





